मकवानपुरमा साइबर क्राइमका घटना बढे

0
384
Advertisementcorona-new-ads

सम्झना रिजाल
हेटौंडा, १९ मंसिर/मकवानपुरमा साइबर सम्बन्धी अपराध हुने क्रम बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार साइबर अपराधका घटनामा बढोत्तरी भएको पाइएको हो । प्रविधिको विकास र विस्तारसँगै यसको दुरुपयोग बढे पछि साइबर अपराधको घटना बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७५÷७६मा ६२ वटा साइबर अपराधका घटनाहरु दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नै ५१ वटा निवेदन दर्ता भएको प्रहरीले जनाएको छ । विशेष गरी फेसबुक सम्बन्धी निवेदनहरु धेरै परेको उनले बताए । ‘फेसबुकसँग सम्बन्धित निवेदन नै ४९ वटा दर्ता भएका छन्,’ उनले भने,‘अहिलेको युवाहरुमा प्रविधिको प्रयोग गर्ने क्रम बढेको छ तर, यसको उपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको छ । यसले गर्दा जान अन्जानमा नै प्रविधिसम्बन्धी अपराध भइरहेको हुन्छ । यसबाट बच्न हामीले समय समयमा सचेतना कार्यक्रमहरु गरिरहेका छौं ।’

फेसबुकमा फोटो राखेर अश्लिल सन्देश पठाउने, फोटो तोडमोड गर्ने विषयमा बढी निवेदन पर्ने गरेको प्रहरीले जनाएको छ । ‘अहिले ह्याक गर्ने । नक्कली आइडि बनाएर गलत सन्देशहरु प्रवाह गर्ने काम बढ्दो छ । तर, हामीलाई कमै मात्रै निवेदन पर्छन् ।’ गत बर्ष पनि सबै भन्दा धेरै फेसबुकमै समस्या देखिएको थियो । गत बर्ष ६२ मध्ये ६० वटा निबेदन फेसबुक सम्बन्धी नै परेका छन् । साइबर अपराध बिरुद्ध अधिकांश पीडितहरु महिला रहेको समेत मकवानपुर प्रहरीले उल्लेख गरेको छ । फेसबुकमा नक्कली आइडी बनाएर आफन्त तथा साथीहरुलाइ नराम्रा शन्देस पठाउने, जथाभावी तस्बीर हालिदिने जस्ता समस्या बताउँदै पिडितहरुले निबेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनु भयो ।

साइबर अपराधका गतिविधी गर्नेबिरुद्ध जिल्ला प्रहरी मकवानपुरले महानगरीय प्रहरी परिषद् काठमाडौंमा अनुसन्धान तथा कारबाहीका लागि पठाउने गरेको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा यस्ता गतिबिधि गर्नेलाइ १ लाख जरीवाना वा ५ बर्ष कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्