‘गुटगत व्यवहार हुँदैन’

0
119
Advertisementcorona-new-ads

देश कोभिड भाईरस र बाढी पहिरोबाट आक्रान्त भएको छ, नागरिक त्रसित छन्, पीडित छन् । अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने सरकार र सरकार सञ्चालन गर्नुपर्ने दलहरु कुर्सीको तानातानमा देखिएको छ । पार्टी र सरकार सञ्चालन गर्न विधि र पद्धति हु्न्छ । यही विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद चर्किएको दाबी गरिँदै छ । नेकपाभित्र संस्थापक नेताहरुको नाममा संस्था खोलेर गुट चलाएको आरोप लागिरहेको छ । मदन भण्डारीको नाममा फाउण्डेसन मार्फत एक पक्षले गुट चलाएको आरोप लागिरहँदा पुष्पलाल श्रेष्ठको नाममा पनि अर्काे पक्षले गुट चलाउन थालेको आरोप लाग्न थालेको छ । यसै क्रममा मकवानपुरमा पनि पुष्पलाल श्रेष्ठको स्मृतिलाई ताजै बनाउन भन्दै पुष्पलाल मित्रता केन्द्र गठन भएको छ तर यसलाई पनि एक पक्ष भएको अर्काे पक्षले आरोप लगाएको छ । किन नेताहरुलाई गुटभित्रै सिमित गरिएको हो भनेर हालै मात्र गठन भएको पुष्पलाल मित्रता केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालसँग गरिएको कुराकानी ।

प्रदेशः हालै मात्र संस्थापक नेता पुष्पलाले श्रेष्ठको स्मृतिलाई ताजै बनाउन, उहाँका नाममा विभिन्न गतिधिहरु सञ्चालन गर्न भनेर संस्था गठन गर्नुभयो तर यो विवादमा प¥यो नि तपाई के भन्नुहुन्छ ?
दाहालः पुष्पलाल श्रेष्ठ नेकपाको संस्थापक महासचिव, नेपालमा कम्युनिष्ट पार्टीको विजारोपण गर्ने एक व्यक्तित्व । उहाँको स्मृतिलाई ताजै बनाउन र उहाँका नाममा विभिन्न गतिविधीहरु सञ्चालन गर्न गठन भएको संस्था हो । केन्द्रमा करिब २ वर्ष अगाडी गठन भएको संस्था हो, देशव्यापी सञ्जाल हो । यो कुनै पार्टीको भ्रातृ संगठन होइन, गैरसरकारी संस्था हो । गैरसरकारी संस्था नै भएपनि पुष्पलालको नाममा गठन भएकोले कम्युनिष्ट पार्टीमा आस्था राख्ने सबै यसको नेतृत्वमा, गतिविधीमा लाग्ने भए । केन्द्रमा गठन भइसकेको र अरु जिल्ला पनि गठन भइसकेपछि उक्त गतिविधीमा लाग्न खोज्नेहरु भेला भएर मकवानपुरमा पनि गठन गरेका हौं । यसमा गुट अथवा कसैलाई पाखा लाउने कसैलाई ल्याउने हैन एउटा विचार सम्प्रेषण गर्नको निम्ति गठन गरेका हौं ।

प्रदेशः यहाँहरुले गरेको भेला नै गुटगत भयो, भेलामा एक पक्षीय मात्रै आमन्त्रित गरियो अन्य पक्षलाई बोलाइएन । भेलामा चै किन एकपक्षीय मात्रै बोलाईयो ?
दाहालः एकपक्ष र अर्कोपक्ष भन्दा पार्टीको कुरा गर्नुहुन्छ भने हामी सबै एउटै पार्टीका थियौं । एकपक्ष मात्रै हैन । केही मान्छेहरु आएको हो । १० वटै स्थानीय तह, नगरभित्रका विद्यार्थी, युवा, शिक्षक, उद्यमी व्यवसायीलाई निमन्त्रणा गरेका हौं, त्यसै अन्तर्गतका भेला भएका हौं । पुष्पलाल मित्रता केन्द्रमा को को छ भनेर सोधेर नआउनुभएको हो भने मेरो भन्नु केही छैन । हैन भने यो खुल्ला हो, अझै पनि सदस्य बाँडेर उहाँहरुलाई समेट्न तयार छौं ।

प्रदेशः सिधै भन्नुपर्दा माधव कुमार पक्षकालाई मात्रै आमन्त्रण गरियो, केपी ओली पक्षलाई आमन्त्रण गरिएन भनेर सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा आइरहेको छ । यो बोलाउने क्रममा यस्तो आशय थियो ?
दाहालः त्यो आशय थिएन । सामिप्यताको कुरा, आउने कुराहरुमा जो–जो सम्पर्कमा हुनुहुन्थ्यो त्यसलाई आमन्त्रण गरिएको हो । केन्द्रदेखि नै गठन भएको गैरसरकारी संस्था प्रकृतिको संगठन हो । यसमा मित्रता गर्ने ठाउँ भएकोले मित्रता गर्ने व्यक्तिहरु आउनु स्वभाविक हो ।

प्रदेशःमदन भण्डारी फाउण्डेशन देशव्यापी रुपमा सञ्चालन भइरहेको छ, उसका विभिन्न गतिविधीहरु छन् । त्यो भन्दा फरक यो किसिमको संस्था गठन गरिएको हो भन्ने आरोप छ । तपाईं अध्यक्ष हुनुहुन्छ यसलाई कसरी लिनुहुन्छ ?
दाहालः मदन भण्डारी जनताको बहुदलीय जनवादको प्रवद्र्धक हो । मदन भण्डारी फाउण्डेशनले पुष्पलाल मित्रता केन्द्र भन्दा धेरै अगाडी आफ्ना गतिविधिहरु सञ्चालन गरेको हो । नेतृत्वमा नभएपनि हामी पनि धेरै कार्यक्रममा सहभागि भएका थियौं । त्यो संस्था पनि कम्युनिष्ट विचारधारालाई नै अगाडी बढाउने भएकोले त्यो भन्दा फरक त भन्नै मिल्दैन नि । पार्टीको गतिविधीलाई यसमा जोडेर हेर्दा विभिन्न समस्याहरु छन् । पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममै गएकै कारण किन गएको ? भनेर फोन समेत आउने कुरा राम्रो गर्ने कुरा भएन । हाम्रो मुख्य उद्देश्य भनेको पार्टीमा कसैलाई माथि ल्याउने तल ल्याउने भन्दा पनि पुुष्पलालको विचारधारालाई नै अगाडी ल्याउने हो ।

प्रदेशः तदर्थ कमिटि गठन गरेको भन्नुभयो, यसलाई पूर्णता दिन कसरी लिएर जाँदै हुनुहुन्छ, सदस्यता वितरणको विधिहरु के–के हुन्, संस्था कसरी अगाडी बढ्छ ?
दाहालः यसमा दुई तरिकाबाट अगाडी बढ्दै छौं । जिल्लामा रहेका दशवटा पालिकामा वैचारिक व्यक्तिहरुलाई समावेश गरेर अगाडी बढ्छांै । अनि युवा, खेलकुद लगायतका विभागको रुपमा अगाडी बढ्छौै । एउटा वैचारिक र अर्काे विभिन्न कार्यक्रमहरु गरेर अगाडी बढ्छौं । यो संस्थाको प्रकृति नै यही हो । कम्युनिष्ट पार्टीका विचारकहरु धेरै भएकाले विभिन्न विचारहकहरुको नाममा विभिन्न संस्था खोलिएको हो । तर सबैको उद्देश्य भनेकै कम्युनिष्ट विचारधारालाई नै अगाडी बढाउनु हो ।

प्रदेशः आफ्नो संगठनलाई गाउँपालिका स्तरसम्म पु¥याउन के–के गर्दै हुनुहुन्छ ?
दाहालः हामीले जिल्लामा समेटिएको मान्छेहरुलाई सदस्यता वितरण ग¥यौ । तर अझैपनि प्रगतिशिल विचारधारा बोकेर आउनेलाई हामी समेटेर अगाडी बढ्छौं । गाउँपालिकास्तरमा पनि प्रगतिशिल विचारधारा अँगाल्ने वैचारिक व्यक्तिहरुलाई समेटेर तदर्थ समिति गठन गर्दै अगाडी बढ्छौं ।

प्रदेशः गाउँपालिकामा विभिन्न कार्यक्रमहरु गर्न आर्थिक व्यवस्था कसरी मिलाउनुहुन्छ ?
दाहालः तत्काल केन्द्रले पनि आर्थिक सहयोग गर्न नसक्ने अवस्था रहेको छ, जिल्लाले पनि सक्ने स्थिति रहेको छ । विभिन्न गाउँपालिकामा कार्यक्रम गर्दा सोही गाउँपालिका र विभिन्न अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम गर्ने छौं । यही ३० गते रक्तदान कार्यक्रमबाट हामीले बाहिरी गतिविधी सुरु गर्दै छौं । पुष्पलाल पार्कमा रहेको पुष्पलाल शालिकको अनावरण गर्छाैं र त्यसपछि गाउँपालिकास्तरमा जान्छौं ।

प्रतिकृया दिनुहोस्