हेटौंडा खानेपानीको आन्तरिक आय ९६ प्रतिशत

0
74
Advertisementcorona-new-ads

हेटौंडा, २४ साउन/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष ०७६/०७७ मा आन्तरिक आय ९६.२५ प्रतिशत प्रगति गर्न सफल भएको छ । कोभिड–१९ ले गर्दा चैत ११ गतेदेखि बैशाख २५ गतेसम्म महशुल संकलन काउण्टर बन्द भएकोले गर्दा ग्राहकहरुबाट पानी महशुल लक्ष्य भन्दा कम संकलन भएको बोर्डले जनाएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका निमित कार्यकारी निर्देशक सुदर्शन ढकालले आर्थिक वर्ष ०७६/०७७ मा बोर्डको बाह्य आम्दानी तर्फ ५६.८८ प्रतिशत प्रगति र गत आर्थिक वर्षको बैंक मौज्दात समेत गणना गर्दा कुल वार्षिक लक्ष्यको तुलनामा आय तर्फ ८९.९४ प्रतिशत प्रगति भएको बताए । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्त सम्मको ८ करोड २६ लाख ६० हजार बिलिङ्ग (मिटर रिडिङ) भएकोमा ८ करोड ४ लाख ४२ हजार पानी महशुल उठाउन बोर्ड सफल भएको उनले बताए । आर्थिक वर्षको अन्त्यसम्ममा पानी महशुल बाँकी बक्यौता रकम ४० लाख ५६ हजार रहेकोमा ग्राहकहरुबाट ६२ लाख ५० हजार अग्रिम महशुल भुक्तानी हुन आएको र जोखिमयुक्त वक्यौता रकम ५ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।

यसैगरी बोर्डले वार्षिक कुल लक्ष्यको तुलनामा कार्यालय सञ्चालन खर्चमा १०१.८४ प्रतिशत, सेवा सञ्चालन तर्फ ९०.२९ प्रतिशत, पूँजिगत खर्च ६२. २ प्रतिशत खर्च भई वार्षिक लक्ष्यको तुलनामा व्यय तर्फ ७७. ६२ प्रतिशत खर्च भएको उनले बताए । एक वर्षको अवधिमा बोर्डको आम्दानी १३ करोड ७४ लाख २२ हजार १ सय ५ रुपैयाँ रहेको छ भने कुल खर्च ११ करोड ८५ लाख ९९ हजार ९ सय ९७ रुपैयाँ रहेको छ ।

वितेको एक वर्षमा बोर्डले १५ वटा कार्य गरेको छ । जसमा खानेपानीका क्षेत्रमा पाइपलाइन सुधार, कुख्रेनीको पुरानो सम्वेल संरक्षण, चुरियामाइ मन्दिरमा पानीको धारा निर्माण, बुङ्दल मुहानको संरक्षण लगायतका काम गरिएको छ । ‘भीमफेदी गाउँपालिका वडा नम्वर १ सामरीमा सम्मवेल निर्माण कार्य सम्पन्न भई मेन पाइप लाइन विस्तारको लागि वोलपत्र आव्हानको कार्य भईसकेको छ’, ढकालले भने,‘बस्तिपुर खानेपानी सहलगानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण हुने प्रकृयामा रहेको, हेटौंडा १४ बनेलधापमा ३०० घ.मि.को पानी टंकीलगायत पाइप लाइन विस्तार कार्यको लागि बोलपत्र माध्यमबाट वोलपत्र आव्हानको प्रकृयालगायत क्रमागत प्रक्रियामा रहेका कार्यहरु रहेका छन् ।’

बोर्डले आर्थिक वर्ष ०७७/०७८ मा १५ करोड ८० लाख रुपैयाँको अनुमानित आयको अनुमान गरेको छ । विनियोजित रकम मध्ये ६४.७० प्रतिशत आन्तरिक आय, २३.४२ प्रतिशत बाह्य आय र गत आर्थिक वर्षको ११.८८ प्रतिशत बैंक तथा नगद मौज्दात आम्दानी हुने अनुमान गरेको छ ।
खानेपानी बोर्डले संघीय सरकार, बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा खानेपानी बृद्धी गर्नका लागि काम गर्दै आएको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । चालु आर्थिक वर्षमा नगरका ४ वटा खानेपानी समूहलाई बोर्ड मातहत ल्याउने योजना रहेको उनले बताए ।

उपभोक्तासँग लिइने जरिवानाको दरलाई न्यूनीकरण गर्नेतर्फ पनि बोर्डले आवश्यक निर्णय गर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बोर्डका सदस्य इन्द्र नेपालले मन्तव्य ब्यक्त गरेका थिए । गत आर्थिक वर्षमा नियमित ६ देखि ७ घण्टामा दैनिक सरदर १ करोड ४२ लाख लिटर खानेपानी बोर्डले वितरण गर्दै आइरहेको छ । हेटौंडाका १३ वटा वडाका एक लाख २५ हजार नागरिकलाई पानी वितरण गरिँदै आएको हो ।

प्रतिकृया दिनुहोस्