झरनाको डायस्पोरिक कवि गोष्ठी

0
67
Advertisementcorona-new-ads


हेटौंडा, ३२ साउन/कोरोना महामारीकाबीच विभिन्न साहित्यिक संस्थाहरुले प्रविधिको माध्यमबाट विभिन्न गतिविधिहरु गरिरहेका छन् । यस्तोमा पूर्वी मकवानपुरको छतिवनमा स्थापना भएको झरना साहित्यिक परिवारले शनिबार साँझ डायस्पोरिक कवि गोष्ठि कार्यक्रम गरेको छ । विदेशमा रहेर साहित्य सिर्जनामा लागेकाहरुलाई समेटेर भर्चुअल माध्यमबाट साहित्य गोष्ठि गरिएको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

कार्यक्रममा विभिन्न देशका १२ जना कविहरुको सहभागिता रहेको थियो । झरना साहित्यिक परिवार मकवानपुरको २५५ औं साहित्य शृङ्खलाका अवसरमा शनिबार डायस्पोरिक कवि गोष्ठी सम्पन्न गरिएको हो । कार्यक्रममा विभिन्न ९ देशबाट १२ जना कविहरुको सहभागिता रहेको
थियो । जुम एपमार्फत् सञ्चालन गरिएको कार्यक्रममा क्यानडाबाट अनमोलमणि, जापानबाट उमेश तिमल्सिना, भारतबाट जीविका अश्रु, अष्ट्रेलियाबाट जेनन नेपाल, कतारबाट तीर्थ संगम राई, पोर्चुगलबाट मुना चौधरी, बेलायतबाट सुनिल संगम, इजरायलबाट सुरेन्द्र प्रसाईँ, अमेरिकाबाट वासुदेव खनाल, दीपा राई पुन, दुर्गा धिताल र मनु लोहरुङ राईको सहभागिता रहेको थियो ।

सहभागी कविहरुले आफ्ना २/२ वटा काव्य सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धव सापकोटा, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, आँचल साहित्यकला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सदस्य सन्तराम राई लगायत विभिन्न विद्यालयमा अध्ययनरत नव सर्जक हरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो । झरनाका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रमलाई झरनाका सचिव मसान उपासकले सहजीकरण गरेका थिए ।

झरना साहित्यिक परिवार मकवानपुरले कोरोना कहरको यो प्रतिकूल समयका बाबजुद पनि आफ्ना नियमित र विशेष कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको छ । अघिल्लो महिना झरना साहित्यिक परिवार मकवानपुरले अन्तरप्रदेश कवि गोष्ठीको आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्