निषेधाज्ञाको औचित्य

0
172
Advertisementcorona-new-ads

हेटौंडा उपमहानगरपालिकाको पूरै क्षेत्र, मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा १० पूरा भयो । मंगलबार रातिबाटै थाहा नगरपालिकामा पनि निषेधाज्ञा जारी भएको छ । मकवानपुरमा कोरोना संक्रमणको दर तीब्र बन्दै गएपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा गरेको हो । थाहा नगरपालिकाको सिफारिसमा मंगलबार रातीबाट ९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । तर, यो निषेधाज्ञा पछि गर्नु पर्ने धेरै कामहरु हुन सकेको भने छैन । संक्रमण बढेकोले यसको नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको भए पनि मकवानपुरमा संक्रमितको संख्यामा खासै कमी आएको भने छैन । केही दिन अघि एकै दिन ५२ जनामा संक्रमण देखियो । मंगलबार २८ जनामा संक्रमण देखियो । प्रहरी, स्वास्थ्यकर्मीहरु पनि उच्च जोखिममा रहेका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि कोरोना नियन्त्रणका लागि गरिएको प्रयास देखिन सकेको छैन । स्वाव संकलन दैनिक एक सय भन्दा बढी भइरहेको छ । कोरोना संक्रमितको संख्या बढेपछि कन्ट्याक्ट टे«सिङका आधारमा स्वाब संकलन भइरहेको छ । तर रिपोर्ट आउन ढिलाई हुँदा समस्या बढेको छ । मकवानपुरका मात्रै करिब ६ सय नमुनाहरु ‘होल्ड’ मा छ । यता तर्फ सरोकारवालाहरुले ध्यान दिन सकेका छैनन् । बुटवलमा आधा घण्टामा नै रिपोर्ट दिने उपकरण जडान भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा त्यस्तो व्यवस्थापन गर्न किन नसकिएको हो ? यहाँ सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण रोकथामसँगै परीक्षणको दायरा फराकिलो बनाउने र छिटो रिपोर्ट दिन सक्ने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्न नसकेको देखिन्छ । प्रादेशिक स्वास्थ्य कार्यालयहरुले यसमा विशेष ध्यान दिन जरुरी छ । मकवानपुर मात्रै होइन अन्य जिल्लाका स्वाबहरु पनि होल्डमा नै छ । एक हप्तासम्म पनि रिपोर्ट नआउने अवस्था अहिले सिर्जना भएको छ ।

यस्तै, विहान ८ बजेसम्म पसलहरु सञ्चालन गर्न दिइएको छ । त्यो समयमा अत्याधिक भिड हुन्छ । सामाजिक दुरी कामय गरिँदैन । दिउँसो सुनसान बनाउँदैमा विहान ८ बजेसम्म खुल्ने पसलहरुमा देखिने भिडबाट कोरोना संक्रमण हुन्न भन्ने अवस्था पनि होइन । यसको उचित व्यवस्थापन भने गर्न सकिएको छैन । यसका लागि व्यापारी र सेवाग्राहीहरुले नै ध्यान दिने हो । अहिले मास्कको प्रयोगमा सचेतता आएको देखिन्छ । मास्क लगाउन मानिसहरुले सहज मान्न थालेका छन् । तर सामाजिक दुरी अझै पनि कायम भएको देखिँदैन । निषेधाज्ञा जारी गरेपछि गर्नु पर्ने धेरै कामहरु हुन सकेको छैन । अस्पतालहरुमा उचित व्यवस्थापन गर्ने, आइसोलेसन व्यवस्थापन गर्ने, संक्रमितहरुको व्यवस्थापन गर्ने, कन्ट्याक्ट टे«सिङ गर्ने जस्ता विषयहरु अझै पनि प्रभावकारी हुन सकेको छैन । प्रदेश सरकारले यसमा आफ्नो भूमिका देखाउन जरुरी छ । देशका अधिकांश जिल्लाका धरैजसो क्षेत्रमा यस्तै निषेधाज्ञा लगाइएको छ । सरकारले यस्ता निषेधाज्ञाको औचित्य पुष्टि हुने गरी काम गर्न सक्नु पर्छ । नागरिक तहबाट पनि सरकारलाई पूर्ण साथ दिनु पर्छ ।

प्रतिकृया दिनुहोस्