देशद्रोही को हो ?

0
111
Advertisementcorona-new-ads

भदौ १ गते सोमबार ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भयो । मंगोल हप नामक युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ । उक्त भिडियोमा प्रधामन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गिरीजाप्रसाद कोइरालादेखि पृथ्वीनारायण शाहसम्मको तस्बिर पनि जलाइएको छ । राष्ट्रिय झण्डाको अपमान गर्दै, ब्राह्मण, क्षेत्रीलाई गाली गर्दै जनजातिहरुको वकालन गरिएको छ । यस्तो गीत गाउने छुट कसैलाई पनि छैन । गीत बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । युट्युबमै सार्वजनिक यो गीतमा अत्याधिक डिसलाइक आएको छ । यसको चौतर्फि विरोध भयो । प्रहरीले तत्काल काम सुरु गरी दुई दिनभित्र ९ जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।


भिडिओमा नेपालको झण्डामा आगो लगाएको देखिन्छ । भिडिओ श्री विष्णु आधारभूत विद्यालय, बागमती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ । गाउँपालिकाले यसमा ध्यानाकर्षण भएको भन्दै निन्दा गरेको छ । तर, यो भिडियो खिच्नु अघि नै रोक्न सकेको भए राम्रो हुने थियो । यो भिडियोको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । प्रहरीले यसमा आवश्यक अनुसन्धान गरी तत्काल कारबाही गर्नु पर्छ ।
सोमबार नै सार्वजनिक भिडियो बुधबार साँझसम्म पनि युट्युबबाट हटाइएको छैन । यो तत्काल हटाउन जरुरी छ । देशलाई विखण्डन गर्ने, जातिय सद्भाव खलल पु¥याउने यस्ता सामाग्रीमा बन्देज लगाइनु पर्छ । देशको परिस्थिति र परिवेशका कारण युवाहरुमा आक्रोश हुनु स्वभाविक हो । तर, आफ्नो आक्रोश पोख्ने यो तरिका भने किमार्थ सही होइन । आफ्नो समुदाय, सम्प्रदायप्रतिको प्रेम र सद्भाव आफ्नो ठाउँमा ठिक होला तर अन्य समुदाय र सम्प्रदायको भावनामा चोट पु¥याउने गतिविधि सर्वथा गलत हो । यस्तो गतिविधिको जति निन्दा गरेपनि अपुग हुन्छ । कडा कारबाही गरिनु पर्छ ।


देशमाथीको अपमान गरेको कसैले सहन सक्दैनन् अझ यसमा त देशकै बासिन्दाले देशको अपमान गरेका छन् । आलोचना र विरोध भइहाल्छ । प्रहरीले यो मुद्दालाई संवेदनशील रुपमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्छ । असन्तुष्टि जाहेर गर्ने नाममा यस्ता अराजक गतिविधिलाई प्रश्रय दिइनु हुन्न । अन्य भागमा पनि यस्ता असन्तुष्टिहरु आउन सक्लान् तर यो मुद्दा त्यस्ता गतिविधि रोक्न एउटा उदाहरण बन्ने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्नु पर्छ ।‘देशद्रोही’ नाम राखेर देशको झण्डा जलाएको र समुदायलाई भड्काउने हिसाबले भिडियो बनाउने चाहीँ कसरी देशभक्ति भए ?

प्रतिकृया दिनुहोस्