मनोबल बढाऔं, सम्मान गरौं

0
59
Advertisementcorona-new-ads

कोरोना संक्रमणको दर नेपालमा केही दिन यता तीब्र रुपमा बढिरहेको छ । कोरोनाको कहरले भयानक रुपमा लिँदै गर्दा नेपालमा मृत्युको दर पनि बढिरहेको छ । नेपालको हकमा हेर्ने हो भने विश्वको तुलनामा राम्रो मान्न सकिन्छ । यहाँ करिब १४ हजार सक्रिय संक्रमित छन् भने १८ हजार भन्दा बढी निको भएका छन् । सक्रिय संक्रमित मध्ये पनि निकै कम मात्रै गम्भीर रुपमा विरामी परेका छन् । कोरोनाका कारण मृत्यु भएका भनिएकाहरुमा पनि अधिकांशमा कुनै न कुनै
दीर्घरोग लागेको पाइएको छ । कोरोना जित्नेहरुले पनि मनोबल उच्च बनाएर जितेका छन् । कोरोनाको सन्त्रास अहिले जसरी बढिरहेको छ, त्यो भन्दा कयौं गुण खतरनाक रोगहरु अस्तित्वमा छ । यसलाई मात्रै उच्च महत्व दिँइदा अन्य रोगहरुको उपचार नपाएर मानिसहरु समस्यामा छन् । सरकारले यता तर्फ विशेष ध्यान दिन जरुरी छ ।


कोरोना संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन जरुरी छ । संक्रमितहरुलाई हेप्ने वा हेयको दृष्टिले हेर्नु हुन्न । काठमाडौं जस्तो ठाउँमा नै स्वास्थ्यकर्मीमाथी दुव्र्यवहार भयो । राजधानीवासीहरुले स्वास्थ्यकर्मीमाथी गरेको दुव्र्यवहार अशोभनीय र अमर्यादित मात्रै होइन दण्डनीय पनि हो । देशभरि स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारका घटना एउटा प्रवृत्तिजस्तै गरी देखिन थालेको छ । चितवनमा देखिएको दुव्र्यवहारदेखि बीरगञ्जमा भएका हमलासम्मले हाम्रो प्रवृत्ति कस्तो छ भनेर देखाउँछ । देश कोभिडको विरुद्ध लडिरहेको छ । चिकित्सकहरु यसको अग्रभागमा रहने गर्छन् । उनीहरुको मनोबल गिराउने यस्ता क्रियाकलाप कोभिड विरुद्धको लडाईंमा पक्कै पनि फलदायी हुन्न । चिकित्सा सेवामा अहिले सारा विश्व निर्भर छ । यसको निदान र उपचार पद्धती पत्ता नलागिसकेको अवस्थामा चिकित्सकको उपचार पद्धतिले नै हामी स्वस्थ भएका छौं । चिकित्सकलाई सम्मान गरौं । संक्रमितहरुलाई पनि सम्मान गरौं ।


कोरोना संक्रमणको अवस्था समुदायमा नै फैलिसकेको आशंका रहेको छ । यस्तो अवस्थामा जो कोहिलाई पनि कोरोना लाग्न सक्छ । अहिले केही स्थानीय तहहरुले नै संक्रमितहरुको व्यवस्थापन गरिरहेका छन् । सम्बन्धित स्थानीय तहका संक्रमितहरुलाई उक्त स्थानीय तहहरुमा नै आइसोलेसन केन्द्र तयार गरी व्यवस्थापन भइरहेको छ । लक्षण विहिन संक्रमितहरु घरमा नै बसिरहेका छन् । उनीहरुको मनोबल बढाउने काम हामीले गर्नु पर्छ । संक्रमितहरु विस्तारै खुल्दै गएका छन् । यो निकै राम्रो पक्ष पनि हो । यसले संक्रमितको सम्पर्कमा आएकाहरुलाई सचेत
बनाउँछ । संक्रमितहरुलाई गरिने व्यवहारमा सुधार जरुरी छ । एक दिन कोरोनालाई हामी पराजित गर्छौं तर हाम्रो मानवीयता कहिले पनि पराजित हुन भएन ।

प्रतिकृया दिनुहोस्