अन्यौलमा सहकारीको साधारणसभा

0
27
Advertisementcorona-new-ads

हेटौंडा, २४ भदौ/हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनादेखि नै सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्ने चलन थियो । धेरै अतिथिहरु बोलाएर अनि विशिष्ट व्यक्तिलाई प्रमुख अतिथि बनाएर साधारणसभाको उद्घाटन गर्ने बानी परिसकेको थियो । सहकारी ऐन २०७४ को परिच्छेद ६ मा साधारणसभाको व्यवस्था गरिएको छ ।

ऐनको दफा ३६ (३) ग मा वार्षिक साधारणसभाका बारेमा उल्लेख छ भने दफा ३९ (२) मा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र वार्षिक साधारणसभा बोलाउनु पर्ने व्यवस्था गरिएको छ । यसवर्ष विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण समूहमा भेला भएर साधारणसभा गर्न असम्भव जस्तै छ । एकातिर ऐन नियमको बाध्यात्मक व्यवस्था अर्कोतिर कोरानाको महामारीले सहकारी, संघ–संस्थाहरु कसरी साधारणसभा गर्ने भन्ने विषयमा अन्यौलमा छन् ।

साधारणसभा आयोजना हुनुभन्दा एकमहिना अगावै सदस्यलाई जानकारी गराउँनु पर्दछ । साधारणसभा पछाडि धकेल्ने कि, पुस महिनासम्म गरिसक्नु पर्ने अथवा असोज महिनासम्म गरिसक्नु पर्ने हो भन्ने कुरा नियमनकारी निकायले तोकेर नदिएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले बताइन् । ‘सहकारी विभागले असोज महिनासम्म लेखापरीक्षण गरिसक्नु भनेर परिपत्र जारी गरेको छ,’ उनले भनिन्,‘मकवानपुरमा रहेका कतिपय सहकारीले लेखापरीक्षण गरिसकेका छन् भने कतिपयले गर्ने क्रममा रहेका छन् । केन्द्रीय संघले मार्गदर्शकको रुपमा १६ बुँदा विषय दिएकाले हामीले पालना गर्नुपर्दछ । जसमा भर्चुअल र प्रत्यक्ष माध्यम विषय मिक्स रहेको छन् ।

लकडाउन तथा निषेधाज्ञ जारी रहेको अवस्थामा सहकारीको गतिविधि वेभसाइट, सामाजिक सञ्जाल, रेडियोबाट पनि जानकारी दिन सकिन्छ ।’ संस्थाका सेयर सदस्यको उपस्थितिमा मात्रै साधारणसभा गर्नुपर्छ भन्ने मान्यता छ । तर समूहमा भेला भएर गरिने कार्यक्रम नै रोकिएको वर्तमान अवस्थामा सहकारीको साधारणसभाका लागि बनाइएका ऐन नियमहरु परिमार्जन गरी भर्चुअल विद्यीबाट र समूहमा आधारित सहकारीले १५ जना सम्ममा प्रतिवेदन पेस गर्ने गरी साधारणसभा गर्न पनि सकिने सहकारी अभियन्ताको भनाइ छ । प्रविधिको प्रयोग गरेर गरिने साधारणसभाको वैधता कसले कसरी दिने भन्ने प्रश्न गहन रहेको श्रेष्ठ बताउँछिन् ।

असोज भित्र लेखापरीक्षण गरिसक्न विभागको परिपत्र

सहकारीको साधारण सभा कसरी गर्ने भन्ने विषयमा सहकारी विभागको परिपत्र पर्खिरहेका सहकारीको लागि केही समय पर्खन अनुरोध गरेको छ । सहकारी विभागले भदौ २१ गते परिपत्र जारी गर्दै केही समय पर्खन अनुरोध गरेको हो । सहकारी संघ संस्थाहरुको लेखापरिक्षण तथा साधारणसभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल भइरहेकोले नआत्तिन अनुरोध गरेको छ ।

‘सरोकारवालाहरु संगको छलफल तथा अन्तक्र्रियाबाट प्राप्त भएका सुझाव सहितका आधारमा उपयुक्त निकास सहितको निचोड निकालिने छ’, परिपत्रमा भनिएको छ । प्रत्येक आर्थिक वर्षको पुष मसान्तसम्ममा लेखापरिक्षण तथा साधारण सभा सम्पन्न गर्ने समय रहेको हुनाले उक्त समयभित्र कार्य सम्पन्न हुनेगरी छलफल र भइरहेको जनाएको छ । कोरोनाका कारण सहकारी संघ संस्थाहरु साधारण सभा कसरी गर्ने भन्ने अन्योलमा रहेको र नियामक निकायको निर्देशिन पर्खिरहेको बेला सहकारी विभागले परिपत्र जारी गरेको हो ।

प्रतिकृया दिनुहोस्