खेलाडी उत्पादन गर्न केदारेश्वरको फुटबल प्रशिक्षण

0
44
Advertisementcorona-new-ads

हेटौंडा, २८ भदौ/मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा रहेको केदारेश्वर युवा क्लबले खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल प्रशिक्षण सुरु गरेको छ । रजैया र आसपासका खेलाडीलाई समेटेर आइतबारबाट एक महिने फुटबल प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षण गराउँदै प्रशिक्षक विजयलाल श्रेष्ठ

प्रशिक्षणमा करिब ५० जना खेलाडी सहभागी हुने अपेक्षा राखिएको छ । पहिलो दिन ३० जनाको उपस्थिती रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का मकवानपुर जिल्ला प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छन् । ‘यस क्षेत्रमा सञ्चालन हुने फुटबल प्रतियोगिताहरुमा हाम्रो क्लवले पनि सहभागिता जनाउँदै आएको छ । खेलाडीमा आवश्यक प्राविधिक ज्ञानको अभाव देखिएकोले हामीले प्रशिक्षणको आयोजना गरेका हौं’, केदारेश्वर युवा क्लबका अध्यक्ष प्रमोद अधिकारीले भने, ‘खेलाडीहरुले पनि राम्रो सहभागिता जनाएका छन् । प्रशिक्षण फलदायी हुने हामीले विश्वास लिएका छौं ।’ सबैको सकारात्मक सहयोग भएमा फुटबल प्रशिक्षणलाई निरन्तर अघि बढाउने योजना रहेको उनले सुनाए । प्रशिक्षणका लागि करिव ६० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

‘क्लवको नेतृत्व फेरि मैले गर्ने मौका पाएसंगै आफ्नो कार्य योजनामा खेलाडीको लागि फुटबल प्रशिक्षण राख्ने बिषयलाई पनि समेटेको थिएँ । कार्य समितिका सबै साथीहरुले यसमा सहमति जनाउनुभयो । हामीले रजैयाको फुटबल चौरमा प्रशिक्षण सुरु गरेका हौं’, अध्यक्ष अधिकारीले भने, ‘रजैया आसपासका इच्छुक खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी हुन अनुरोध समेत गर्न चाहन्छौं ।’ प्रशिक्षणमा सहभागी हुने खेलाडीले निश्चित रकम तिर्नुपर्नेछ ।

बसन्तपुरमा पनि प्रशिक्षण जारी
मनहरी गाउँपालिका–५ मा रहेको सूर्यकिरण युवा क्लबले पनि तीन महिने फुटबल प्रशिक्षण सञ्चालन गरिरहेको छ । स्थानीय युवाहरुको सहयोगमा सूर्यकिरण क्लबले खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल प्रशिक्षण सञ्चालन गरिरहेको हो । साउन २८ गतेबाट सुरु गरिएको प्रशिक्षण निषेधाज्ञाको कारण केही समय स्थगीत भएको थियो ।

अहिले फेरि प्रशिक्षण सुरु गरिएको क्लवका अध्यक्ष वीरबहादुर मिजारले जानकारी दिए । प्रशिक्षणमा स्थानीय ३६ जना खेलाडीहरु सहभागी रहेका छन् । हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले स्थानीय खेलाडीलाई सिकाइरहेका छन् । ‘गाउँमा लोकप्रिय खेल फुटबलको प्रशिक्षण राख्नुप¥यो भन्ने सबै युवाहरुको माग भएपछि हामीले तीन महिने प्रशिक्षण सञ्चालन गरेका हौं’, अध्यक्ष मिजारले भने, ‘निषेधाज्ञाको कारण केही समय स्थगीत भएको थियो । केहीदिन देनि फेरि सुरु गरेका छौं ।’ प्रशिक्षणका लागि स्थानीयसँगै विदेशमा रहेका युवाहरुले समेत आवश्यक आर्थिक सहयोग गरिरहेको क्लवका सचिव मिलन ढुंगानाले बताए ।

प्रतिकृया दिनुहोस्