४२ जनाले गरे रक्तदान

0
14
Advertisementcorona-new-ads

हेटौंडा, २९ भदौ/जेसीआई हेटौंडा लेडीको आयोजनामा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । लेडीको जेसीज सप्ताह–२०२० अन्तर्गत सोमबार बिहान रक्त सञ्चार केन्द्र परिसरमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको अवस्थामा हेटौंडामा रगतको अभाव नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुशीला पौडेलले जानकारी दिइन् । कार्यक्रम संयोजक दुर्गा बिष्ट ठकुरीको संयोजकत्व एवम् लेडी जेसीज अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कोरोनाको विषम् परिस्थितीमा पनि जेसीज सप्ताहको आयोजना गरी रक्तदान लगायतका राम्रा कामहरु गरेकोप्रति खुसी व्यक्त गर्दै वडा अध्यक्ष न्यौपानेले अप्ठेरो परिस्थितिमा सामाजिक संघसंस्थाको भूमिका थप प्रभावकारी हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शोभा खरेल, मूल कार्यक्रम संयोजक सृष्टि गोर्खालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरु रश्मी बस्नेत, निशा रोक्का, अस्मिता श्रेष्ठलगायतको आतिथ्यता थियो ।

अन्तर जेसीज वक्तृत्वकलामा शर्मा प्रथम
लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत सोमबार दिउँसो भएको अन्तर जेसीज वक्तृत्वकला प्रतियोगितामा स्नेहा शर्मा प्रथम भएकी छिन् । अनलाइन मिडियाको सामाजिक प्रभाव बिषयमा जुम एप्समार्फत भएको वक्तृत्वकलामा विवेक फुयाँल द्वितीय तथा लिलु पुलामी मगर तृतीय भइन् ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३ हजार, २ हजार र एकहजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । कार्यक्रम संयोजक श्रुती राई बस्नेतको संयोजकत्व एवम् अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष शोभा खरेल, जेसीआई हेटौंडाका कार्यकारिणी उपाध्यक्ष श्रवणकुमार बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वक्तृत्वकलामा जेसीआई हेटौंडाका पूर्व अध्यक्षद्वय अरुणकुमार दाहाल र दीपकराज मिश्र तथा मकवानपुर क्याम्पसका प्राध्यापक निरा शर्मा निर्णायकको रुपमा रहेका थिए । जेसीज सप्ताह अन्तर्गत मंगलबार व्यवसायिक तालिम र जेसीज सप्ताहको समापन रहेको लेडी जेसीज महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्