मकवानपुरमा एकै दिन ६१ जनामा कोरोना पुष्टि

0
11
Advertisementcorona-new-ads

मकवानपुरमा मंगलबार एकै दिन ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार विहान १६ जना र र साँझ ४५ जना गरी ६१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
साँझ प्राप्त रिपोर्ट अनुसार १३ महिला र ३२ पुरुषमा संक्रमण पुष्टी भएको छ । भदौ २९ गते स्वाब संकलन भएको १०५ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको जनाईएको छ ।

मंगलबार साँझको रिपोर्ट अनुसार सबैभन्दा बढि वडा मनहरीमा २२ जना रहेका छन् । मनहरी गाउँपालिका ८ मा १० महिला र १० पुरुष गरी २० जनामा संक्रमण देखिएको छ । यस्तै, मनहरी ६ र ७ मा १÷१ मा कोरोना देखिएको छ । यस्तै, हेटौंडा–३ मा १ जना, हेटौंडा–५ मा ४ जना, हेटौंडा–६ मा ३ जना, हेटौंडा–८ मा ६ जना, हेटौंडा–९ मा ४ जना, हेटौंडा–१० मा १ जना र हेटौंडा–१७ मा ३ जना रहेका छन् । कैलाश गाउँपालिकामा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा मंगलबार बिहान १६ जना संक्रमित थपिएका थिए । विहान प्राप्त रिपोर्ट अनुसार हेटौंडा–१ मा २ जना, हेटौंडा–४ मा २ जना, हेटौंडा–५ मा ६ जना, हेटौंडा–९ मा १ जना, हेटौंडा–११ मा ३ जना, हेटौंडा–१७ मा १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै मनहरी गाउँपालिका–८ मा एक जनामा कोराना पुष्टि भएको चौलागाईंले बताए ।

एक महिने शिशुमा संक्रमण
मकवानपुरमा मंगलबार विहान प्राप्त रिपोर्ट अनुसार एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । उनका अनुसार परिवारको अन्य सदस्यलाई कोरोना देखिएको छैन । सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु घरमा नै आइसोलेसनमा बसेको उनले बताए ।

मृत्यु पछि कोरोना पुष्टि
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय पुरुष रहेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।
मृतकको मंगलबार नै नेपाली सेनाले शव व्यावस्थापन गरेको छ । मृतक पुरुष दम र मुटुको समस्या रहेको थियो । दुईदिनदेखि बिरामी उनी अकस्मात सोमबार बिहान घरमै ढलेका थिए । कोरोना संक्रमितको शव व्यावस्थापन एकै स्थानमा गर्ने गरी स्थान तय गरिएको र सेनाले व्यावस्थापन गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

मृत्यु पछि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो । परीक्षणका क्रममा उनको स्वाबको नतिजा पाजिटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मी ज्योतिराज लुईंटेलका अनुसार कोरोनाको नतिजा नआउँदासम्म गाउँपालिकाले शव सदगद नगर्न परिवारलाई आग्रह गरेको थियो । उनीसँगै मकवानपुरमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस्