मकवानपुरमा संक्रमित एक हजार नाघे

0
14
Advertisementcorona-new-ads

हेटौंडा, ३० भदौ/मकवानपुरमा कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । सोमबार ६७ जनामा संक्रमण पुष्टिभएसँगै मकवानपुरमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको तथ्यांक अनुसार एक हजार ५१ जनामा कोरोना संक्रमण देखिएको थियो भने मंगलबार थप ६१ जनामा संक्रमण पुष्टिभएसँगै जिल्लामा संक्रमितहरुको संख्या १ हजार १ सय १२ पुगेको हो ।

निषेधाज्ञा पछि बढ्यो
मकवानपुरमा साउन २४ गते एकै पटक २३ जनामा कोरोना संक्रमण देखिए पछि साउन २६ गतेबाट निषेधाज्ञा लगाइएको थियो । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको निषेधाज्ञा क्रमशः भीमफेदी गाउँपालिका र थाहा नगरपालिकामा पनि लगाइएको थियो । भदौ २६ गतेबाट निषेधाज्ञा धेरैहदसम्म खुकुलो भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार निषेधाज्ञा सुरु भएको पहिलो दिन साउन २६ गते मकवानपुरमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २६ गते एक महिना पछि मकवानपुरमा संक्रमितको संख्या ९५५ पुग्यो । एक महिनाको बीचमा मकवानपुरका ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । होम आइसोलेसनमा बसेकाहरुले लापरबाही गरेका कारण संक्रमितहरुको संख्या बढिरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । घरमै आइसोलेसनमा बसेकाहरु मापदण्ड पूरा नगरी बाहिर निस्किरहेका कारण संक्रमित बढिरहेको हो । ‘घरमै आइसोलेसनमा बसेकाहरु बाहिर निस्कने गरेको गुनासो हामीसम्म आइसकेको छ,’ उनले भने,‘घरमा आइसोलेसनमा बस्दा सरकारले तयार गरेको मापदण्ड मान्नु पर्छ । लक्षण नदेखिएकाहरुलाई घरमा नै आइसोलेसनमा बस्न सरकारले पनि अनुरोध गरेको छ । तर, संक्रमितहरु बाहिर तिर घुम्न निस्कँदा संक्रमण फैलने जोखिम उच्च हुन्छ ।’ पछिल्लो समय एकै घरमा परिवारमा संक्रमितहरुको संख्या बढिरहेको छ । केही दिन अघि हेटौंडा–१० का १२ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरु एउटै परिवारका थिए ।

‘कोरोनाको पिसिआर परीक्षणका लागि स्वाब दिएपछि मानिसहरु आइसोलेसनमा बस्नु पर्छ,’ स्वाब संकलन भइरहेको कर्रा आइसोलेसनमा नै रहेर काम गरिरहेका चौलागाईंले भने,‘तर स्वाब दिए पछि रिपोर्ट नआउन्जेल मानिसहरु कहाँ कहाँ पुगिसकेका हुन्छन् । पोजेटिभ रिपोर्ट आयो भने कन्ट्याक्ट टे«सिङमा समस्या हुन्छ । नेगेटिभ रिपोर्ट आएपछि बाहिर निस्कँदा हुन्छ ।’
यता, हेटौंडा उपहानगरपालिकाका मेयर हरिबहादुर महतले परीक्षणको दायरा बढाइएको बताएका छन् । हेटौंडाको वडा नम्बर ४ मा मात्रै एक सय बढीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । ‘कोरोना संक्रमितहरुको संख्या दैनिक बढिरहेको छ,’ मेयर महतले भने,‘परीक्षणको दायरा पनि बढाइएको छ । अब विस्तारै कोरोनासँगै काममा फर्किने अवस्था सिर्जना गर्नु पर्छ । गतिविधि सबै ठप्प गर्न हुन्न ।’
प्रदेश सरकारले हेटौंडा–६ गौरीटारमा १२० शैय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । यसको व्यवस्थापन पनि हेटौंडा उपमहानगरपालिकाले गरेको छ ।

नगर बाहिर संक्रमित बढ्दै
हेटौंडा उपमहानगरपालिका कोरोना भाइरसको इपिसेन्टर बन्ने अवस्थामा पुगिरहँदा उपमहानगरबाहिरका गाउँपालिकाहरुमा पनि संक्रमणको दर बढिरहेको छ । विशेष गरी मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिकामा संक्रमितहरु बढिरहेका छन् । विकट मानिएको राक्सिराङ र कैलाश गाउँपालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

मनहरी गाउँपालिकामा मंगलबार एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकामा एकै दिन यति धेरै संक्रमित भएको यो पहिलो भएको मनहरी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक टिकाराम अधिकारीले जानकारी दिए । मनहरी गाउँपालिकाले २४ बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । तर, संक्रमित बढेसँगै व्यवस्थापनमा कठिनाइ आउन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको कन्ट्याक्ट टे«सिङ गर्दै परीक्षण गर्दै आइरहेको थियो । गाउँपालिकाले अहिले लोथर क्षेत्र सिल गरेको छ ।

यता, राक्सिराङ गाउँपालिका पनि असोज २ गतेसम्म सिल गरिएको छ । भदौ २८मा एकै दिन ६ जनामा कोरोना संक्रमण देखिए पछि राक्सिराङ गाउँपालिका कार्यलय रहेको चैनपुर क्षेत्र सिल गरिएको हो । गाउँपालिकाले स्वास्थ्य समस्या भएकाहरुले तत्काल सम्पर्क गर्न अपिल गरेको छ भने गाउँपालिकाबाट दिइने सेवामा रोक लगाएको छ । कैलाश गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुगढी गाउँपालिकामा पनि संक्रमणको उच्च जोखिम देखिएको छ ।

पाँच सय माथीमा मकवानपुर पनि
मकवानपुर जिल्ला पनि पाँच सय भन्दा बढी संक्रमितहरु रहेको जिल्लाको सूचीमा समावेश भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मकवानपुर पनि पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाको सूचीमा रहेको छ । मकवानपुरसँगै बागमती प्रदेशमा काठमाडौं, चितवन र भक्तपुर पाँच सय बढी सक्रिय संक्रमितहरुको सूचीमा रहेको छ ।

प्रतिकृया दिनुहोस्