सार्वजनिक गाडीमा छैन स्वास्थ्य मापदण्ड

0
23
Advertisementcorona-new-ads

हेटौंडा, ९ असोज/पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका छन् । मकवानपुरमा पनि संक्रमण रोकिएको छैन । दैनिक कोरोना संक्रमित बढिरहेका छन् । करिब ६ महिना लामो लकडाउन र निशेधाज्ञासंगै सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसंगै मकवानपुरमा पनि अहिले निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ ।

तर सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पालना भने नभएको पाइएको छ । सरकारले स्वास्थ्य मापदण्डको पालना गरी गाडी चलाउन भने पनि चालक, सहचालक र यात्रुकै लापरबाहीका कारण स्वास्थ्य मापदण्ड पूरा नभएको पाइएको हो । लापरबाहीका कारण कोरोना संक्रमण फैलनसक्ने त्रास समेत बढेको छ । यातायात व्यवस्था विभागले गाडीमा एक लहरमा एकजना मात्रै बस्ने, अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम बनाएको भएपनि निकै कमले मात्र कार्यान्वयन गरेको पाइएको
छ ।

विशेषगरी स्थानीय रुटमा सञ्चालन हुने साना सवारीले नियम मिचेको पाइएको हो । साना सवारीले अटेसम्म यात्रु कोच्ने गरेको भेटिएको छ । तोकेको मापदण्ड नमानेर अटेर गर्दा कोरोनाको जोखिम बढेको छ । कतिपय साना सवारीले आफ्नो सिट क्षमताभन्दा पनि बढी यात्रु राख्ने गरेको र यात्रुले आवश्यक सुरक्षा सावधानी नै नअपनाउने गरेको मकवानपुरका एक ट्राफिक प्रतिनिधिले स्वीकार गरे । यस बिषयमा प्रहरी प्रशासनले खासै ध्यान दिन सकेको छैन । ट्राफिक प्रहरीले सुरक्षा सावधानी अपनाएर गाडी चलाउन आग्रह गर्दै आएको दावी गरेको छ । तर यात्रु र चालकले त्यसलाई मान्ने गरेका छैनन् ।

‘माइक्रो म्याजिकमा अटेसम्मको यात्रु बोक्ने गरेको छ । सबैले मास्क लगाएका पनि छैनन्’, मकवानपुरको मनहरी गाउँपालिका–९ का प्रमोद अधिकारीले भने, ‘यस्तो लापरबाहीले त कोरोनाले बर्बाद् नबनाउला भन्न सकिन्न । यसतर्फ प्रहरी प्रशासनसहित जिम्मेवार प्राप्त निकायले विशेष ध्यान दिनु आवश्यक छ ।’ कोरोनालाई सर्वसाधारणले सामान्य सोच्ने गरेको र हेलचेक्र्याइँ गर्ने गरेको पाइएको छ । यसरी यातायातका साधनमा भीडभाड गर्दा र आवश्यक सावधानी नअपनाउँदा कोरोनाको संक्रमण बढ्नसक्ने सम्भावना बढी हुने गरेको चिकित्सकहरुको भनाई रहेको छ । यसका लागि व्यक्ति स्वयम् चनाखो भै आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिकृया दिनुहोस्