एक विद्यालय एक नर्स कार्यक्रम, ११९ वटा स्थानीय तहका विद्यालयहरु छनौट

0
23
Advertisementcorona-new-ads

हेटौंडा, ७ असोज/बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि घोषणा गरेको एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्ने विद्यालयहरु छनौट गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशका ११९ वटै स्थानीय तहहरुमा यो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो । सोही अनुसार एक स्थानीय तहमा २ वटा माध्यामिक विद्यालयहरु रहने गरी २३७ वटा विद्यालयहरु छनोट गरिएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एक विद्यालय मात्रै छनौट भएका छन् ।

‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७६’ अनुसार विद्यालयहरु छनौट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा नै प्रदेशका सबै स्थानीय तहहरुलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत बजेट विनियोजन गरिसकेको छ । सरकारले अघिल्लो आर्थिक वर्षमा नमुनाको रुपमा २० वटा विद्यालयहरुमा यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यो वर्ष सबै स्थानीय तहहरुमा लागु हुने भएको हो । चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि १९ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विद्यालयमा प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिने उद्देश्यले यो कार्यक्रम सुरुवात गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै विद्यार्थीहरुलाई पोषिलो खाना तथा सरसफाई बारे सचेत गराउने र पत्रुखाद्य निरुत्साहित गरी पोषणको अवस्थामा सुधार ल्याउने, यौन तथा प्रजनन्, मानसिक, मुख तथा दाँत र आँखाको स्वास्थ्य जस्ता बिषयमा परामर्श तथा स्वास्थ्य परिक्षण गरि बिद्यार्थीहरुको स्वास्थ्य सुधारमा सहयोग गर्ने, विद्यालय नर्स तथा विद्यार्थी मार्फत परिवार एवम्समुदायलाई स्वस्थ बनाउन सचेतना जगाउने तथा स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने, सर्ने तथा नसर्ने रोगहरुको रोकथामका लागि विद्यार्थीहरुको सहभागितामा चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने, विद्यालय स्वास्थ्यका अन्य क्रियाकलापहरु कार्यान्वयन गर्ने उद्देश्यले विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

मकवानपुरमा २० विद्यालय थप
मकवानपुरमा यस अघि २ वटा विद्यालयमा सञ्चालनमा रहेको यो कार्यक्रमका लागि थप २० वटा विद्यालयहरु थप गरिएको छ । बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र मावि र हेटौंडा–४ मा रहेको आधुनिक माविमा अघिल्लो आर्थिक वर्षबाट नै यो कार्यक्रम सुरु भएको थियो ।
चालु आर्थिक वर्षमा मकवानपुरका १० स्थानीय तहमा २० वटा विद्यालयहरु छनौट भएका छन् । इन्द्रसरोवर गाउँपालिकामा वत्सलादेवी मावि र महाचुनी मावि छनौट भएका छन् ।

कैलाश गाउँपालिकामा भवानी मावि कालिकाटार र धुवाङ मावि भार्ता, थाहा नगरपालिकामा बागेश्वरी मावि, नौखण्डे र बज्रबाराही मावि, बागमती गाउँपालिकामा बागमती मावि र देवकी मावि, भीमफेदी गाउँपालिकामा राष्ट्रिय माव, सानुटार र महालक्ष्मी मावि, सुपिङ छनौट भएका छन् । यस्तै, मकवानपुर गढी गाउँपालिकामा भानु मावि मक्रान्चुली र बंशगोपाल मावि कुर्लेदमार, मनहरी गाउँपालिकामा पशुपतिनाथ मावि मसिने र राष्ट्रिय माव सुनाचुरी, राक्सिराङ गाउँपालिकामा कालिका मावि खैराङ बटारे र कालिका मावि राक्सिराङ, बकैया गाउँपालिकामा बुद्ध मावि, हात्तिसुढेँ र कान्ति मावि ठिंगन छनौट भएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा भने बालज्योति मावि पिप्ले र जनप्रिय मावि हटिया छनौट भएका छन् ।योसँगै मकवानपुरमा २२ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएका छन् ।

नर्सका लागि आवेदन माग
एक विद्यालय एक नर्स कार्यक्रमका लागि विद्यालय छनौट गरेको सामाजिक विकास मन्त्रालयले ती विद्यालयहरुमा काम गर्ने नर्सहरु भर्ना गर्न आवेदन माग गरेको छ । विहीबार एक सूचना जारी गर्दै मन्त्रालयले नर्सहरु करारमा नियुक्तीका लागि आवेदन माग गरेको हो ।

२१ दिन भित्र आवेदन दिइसक्नु पर्ने मन्त्रालयले जनाएको छ । विद्यालय नर्सका लागि नर्सिङ विषयमा स्नातक तह उत्तीर्ण भएको हुने पर्ने र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनु पर्ने मन्त्रालयले जनाएको छ । विद्यालयमा नियुक्त हुने नर्सहरुले स्थानीय तह र विद्यालयसँगको समन्वयमा काम गर्नु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

विद्यालय नर्सले स्वास्थ्य सम्बन्धी प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र प्रेषण सेवा उपलब्ध गराउनु पर्ने, विद्यालयमा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि विद्यार्थीको अभिभावकसँग समन्वय गर्ने, विद्यार्थी र शिक्षक÷कर्मचारीलाई थप उपचार आवश्यक भएमा सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने, कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका लागि व्यवस्थापकीय भूमिका, योजना तर्जुमा, समन्वयात्मक भूमिका, अभिलेख, प्रतिवेदन तथा कार्यक्रमसँग सम्बन्धित अन्य कार्यहरु गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

किशोर अवस्थामा विद्यार्थीहरुमा धेरै मानसिक विचलन आउने, लागु औषध दुव्र्यसनमा लाग्ने जस्ता समस्या विकराल रुपमा बढ्दै गइरहेको समयमा विद्यालय नर्सहरुले यसलाइ रोक्न सकारात्मक भुमिका निर्वाह गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्