‘अफवाहको पछाडी लाग्न हुन्न’

0
444
Advertisementcorona-new-ads

कोरोनाको संक्रमण मकवानपुरमा तीब्र रुपमा बढिरहेको छ । हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी संक्रमितहरु भेटिएका छन् । हेटौंडा उपमहानगरपालिकासँगै मनहरी, भीमफेदी, थाहा नगरपालिकालगायतका स्थानीय तहहरुमा पनि कोरोना संक्रमितहरु बढ्दो अवस्थामा छन् । हेटौंडा उपमहानगरपालिकामा कोरोनाको प्रभाव निकै तीब्र रुपमा बढिरहेको छ । यस्तोमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुनु पर्ने देखिन्छ । हेटौंडाका विभिन्न वडाहरुमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक अवस्थामा छ । यसै सन्दर्भमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपानेसँग सम्झना रिजालले गरेको कुराकानीको सम्पादित अंश:

प्रदेशः कोरोना संक्रमणको पछिल्लो अवस्था के छ वडा नम्बर १ मा ?
न्यौपानेः अहिले वडा नम्बर १ मा दिनप्रतिदिन १/२ जनाको दरले संक्रमण बढ्दै गएको छ । अहिलेसम्म वडामा कुल संक्रमित ५८ जना पुगेका छन्, त्यहीअनुसार निको हुने दर पछि बढेको छ । ३६ जना जति संक्रमण मुक्त भईसकेका छन् । बाँकी संक्रमित सबै होम आइसोलेसनमा रहनुभएको छ भने २ जना उपचारको क्रममा काठमाडौंमा हुनुहुन्छ ।

प्रदेशः अहिले संक्रमण बढिरहेको छ, संक्रमण बढ्न नदिन के कस्ता कार्यहरु गरिरहनुभएको छ ?
न्यौपानेः कोरोना संक्रमण बढ्न नदिनको लागि र संक्रमित बिरामीहरुलाई आइसोलेसनको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि वडा स्वास्थ्य प्रमुख, वडा अध्यक्ष र स्थानीय प्रहरी चौकिको प्रमुखको ३ जनाको समिति बनाएको छ । उक्त समितिको सक्रियतामा अहिले भएका संक्रमितहरुलाई होम आइसोलेसनको व्यवस्था मिलाउने र अप्ठेरो परे गौरीटारमा रहेको आइसोलेसनमा व्यवस्थापन गर्ने व्यवस्था मिलाउने र उहाहरुसँग सम्पर्कमा रहेका र परिवारका सदस्यहरुलाई आवश्यक क्वारेन्टाइनको व्यवस्था मिलाउने, आवश्यक खानेकुराको व्यवस्था मिलाउने र स्वास्थ्य समस्या आएमा सल्लाह सुझाव दिने, स्वास्थ्यकर्मीहरुसँग समन्वय गराउने कार्यहरु गरिरहेको छ । संक्रमण फैलिन नदिनको लागि सामाजिक दुरी कायम गर्नको लागि अनुरोध गर्ने, अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्ने र संक्रमण भएको परिवारलाई सचेत गराउने र अन्य क्षेत्रमा नजान आग्रह गर्ने जस्ता कार्यहरु गरिरहेका छौं ।

प्रदेशः तपाईहरुको यो आग्रहलाई स्थानीयहरुले कत्तिको मानिरहनुभएको छ ?
न्यौपानेः कोरोना भाइरस लाग्दाको सुरुवातको अवस्था र अहिलेको अवस्थामा हामीले धेरै परिवर्तन पाएका छौं । सुरुवातको अवस्थामा कोरोना संक्रमण भएपछि टोल नै सिल गर्नुपर्ने अवस्था थियो । एक ठाउँमा कोरोना संक्रमण हुँदा अर्काे ठाउँका मानिसहरु डराएर बस्नुपर्ने अवस्था थियो भने अहिले वल्लो घर पल्लो घरमा कोरोना पोजेटिभ र नेगेटिभ भएर बस्नुपर्ने अवस्था छ । पक्कै पनि यो रोगको विषयमा बुझ्दै आइसकेपछि अनि अरु संक्रमितको अवस्था देखेपछि मानिसहरु नडराएका हुन सक्छ । तर पछिल्लो चरणमा सुरक्षाका मापदण्डहरु जस्तै मास्क लगाउन, भिडभाडमा जान पहिला भन्दा अलिक कम भएको छ । लकडाउन खुल्ने वित्तिकै कोरोना भाइरसको संक्रमण हुँदैन भन्ने मानसिकताले हो कि अहिले अलिक लापरवाही भएको देखिन्छ यद्यपी हामीले सम्झाउने कार्यहरु गरिरहका छौं ।

प्रदेशः यो संक्रमणको बीचमा पनि तपाईहरुले काम गरिरहनुभएको छ, वडा नम्बर १ ले कसरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर काम गरिरहेको छ ?
न्यौपानेः हामीले जति पनि संक्रमितहरु हुनुहुन्छ उहाँहरुलाई व्यवस्थापनको सन्दर्भमा जान्छौं । विश्व स्वास्थ संगठनको मापदण्डअनुसार सुरक्षा सतर्कताको नियम अनुसार सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता सुरक्षाका उपायहरु अपनाउछौं । पहिला संक्रमित फेला परेको टोलको हरेक घरलाई सिल गर्नुपर्ने अवस्था थियो अहिले जुन घरमा कोरोना लागेको छ त्यो घरको अन्य मानिसहरुलाई सम्पर्कमा नरहने, छुट्टै व्यवस्थापन गर्ने कार्यहरु गरेका छौं ।

प्रदेशः विकास निर्माणमा कोभिड–१९ ले कस्ता खालका समस्या पारेको छ ?
न्यौपानेः विश्व नै आक्रान्त परेको अवस्थामा वडा नम्बर १ पनि अछुतो रहने कुरा रहेन । समय समयमा भएको लकडाउन र निषेधाज्ञाले विकास निर्माणमा गम्भीर असर परेको छ । गत आव ०७६/०७७ को कतिपय कामहरु जेठको पहिलो हप्तादेखि असार मसान्तसम्म काम सकेर भुक्तानी लिनुपर्नेमा काम नसकिएकाले भुक्तानी रोकिएको छ । त्यस्तै नयाँ विकासका योजनाहरु अगाडी बढाउन पनि निषेधाज्ञाको असरहरु खेप्नु प¥यो । त्यसले गर्दा कामहरु सहज रुपमा अगाडी बढ्न पाएको छैन । गाउँ टोलका मानिसहरु जति सहभागिता गराउनुपर्ने हो त्यो गर्न पाइएको छैन भने निर्माण सामग्रीको सहज आपूर्ती नभएका कारण विकास निर्माणमा समस्या परेको छ ।

प्रदेशः संक्रमितहरुले जनप्रतिनिधीहरुले हामीलाई अपनत्व देखाउन सक्नुभएन, कन्ट्याक्ट टेसिङ पनि भएको छैन भनेर गुनासो आइरहेको छ नि त ?
न्यौपानेः जसलाई पोजेटिभ देखाइएको छ, उहाँलाई आइसोलेसनमा बस्नुपर्दा एक त धेरै पीडा हुन्छ, औषधी पनि छैन, बाहिरबाट घर सिल गरिदिनुपर्ने हुन्छ, त्यसमाथि एकपछि अर्काे नयाँ संक्रमितहरु थपिँदै जाँदा त्यसको व्यवस्थापनमा अलि व्यस्त हुन्छौं । त्यसकारण सबै संक्रमितहरुसँग दिनदिनै सम्पर्क नभएपनि उहाँहरुले सम्पर्क गरेको अवस्थामा हामीले सबैलाई सेवा दिन भ्याएका छौं । संक्रमितहरु बढ्दै गएको अवस्थामा पनि होम आईसोलेसनमा रहेकाहरुलाई स्वास्थ्य परामर्श, खानेकुराको उपलब्ध, आत्मबल बढाउन हामी लागिरहेका छौं ।

प्रदेशः अन्त्यमा के भन्न चाहनुहुन्छ ?
न्यौपानेः विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको मापदण्डअनुसार स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु होला । यो भाइरसले केही पनि हुँदैन भन्न अफवाहको पछाडी नलाग्न अनुरोध गर्दछु । तैपनि हामीले गर्नुपर्ने आवश्यक सुरक्षा उपायहरु अपनाएर सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, संक्रमितलाई छि छि दुर दुर नगर्ने कार्यहरु गर्नुहोला । सबै एकजुट भएर यो भाइरस विरुद्ध लड्नुपर्ने भएकाले विभिन्न निकायको मुख ताक्ने मात्र नभएर आफूले सकेको सबै सहयोग र सेवा पनि गर्न अनुरोध गर्न चाहन्छु ।

प्रतिकृया दिनुहोस्