इनारभित्र मोटर बनाउन पसेका २ जनाको मृत्यु

0
16
Advertisementcorona-new-ads

हेटौंडा, ९ असोज/मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको एक पार्टी प्यालेसको इनारभित्र मोटर बनाउन पसेका २ जनाको मृत्यु भएको छ । मनहरी बजारमा रहेको शाह पार्टी प्यालेसको इनारभित्र पानी तान्ने मोटर पम्प बिग्रिएपछि बनाउन पसेका २ जनाको मृत्यु भएको हो ।

इनारभित्र राखिएको मोटर बिग्रिएपछि पार्टी प्यालेस सञ्चालकका ३० बर्षीय छोरा सुरज शाह इनारभित्र पसेका थिए । धेरै समयसम्म उनी बाहिर नआएपछि स्थानीय १६ बर्षीय उत्सव नेपाली सुरजलाई उद्दार गर्न भन्दै इनारमा पसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इनारभित्र दुबै जना बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उनीहरुलाई उद्दार गर्दा मृत अवस्था रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

इनारभित्र दुबै जना बेपत्ता भएपछि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएको र उनलाई स्थानीयले उद्दार गरेको डिएसपी रानाले जानकारी दिए । अचेत अवस्थामा उद्दार गरिएका आनन्दलाई थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालनपछि बेपत्ता भएकाहरुलाई बाहिर निकालिएको थियो । पानी डुबेको आशंकापछि छिटो उद्दारका लागि पानी फालेपछि उनीहरु फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्