चिनियाँ प्रतिरक्षा नीति : शान्त तर निकै सचेत

0
584
Advertisementcorona-new-ads

काठमाडौं- बुधबार चिनियाँ राज्यपरिषद्‌को सूचना कार्यालयले सार्वजनिक गरेको प्रतिरक्षा नीतिलाई ‘नयाँ युगमा चीनको प्रतिरक्षा’ शीर्षक दिइएको छ। ‘श्वेतपत्र’ भनेर प्रकाशित गरिएको यो चीनको १०औं प्रतिरक्षा नीति हो। यसअघिका नीतिभन्दा तुलनात्मक रुपमा चिनियाँ प्रतिरक्षा नीति शान्त र निक्कै सचेत देखिएको छ।

चीनले पहिलो पटक आफ्नो प्रतिरक्षा नीतिमा आधिपत्य, विस्तार र प्रभाव क्षेत्र कहिल्यै पनि नखोज्ने उल्लेख गरेको छ। यद्यपि शक्ति राष्ट्र अमेरीकाप्रति उसको संशय भने बाँकी नै छ।

विश्वव्यापी रणनीतिक स्थिरताको अवमूल्यन अमेरिकाले गरिरहेको चिनियाँ प्रतिरक्षा प्रतिवदेनमा विश्लेषण गरिएको छ। २७ सय शब्दको ५१ पृष्ठको उक्त प्रतिवदेनमा छिमेकीहरुसँग सैन्य सम्बन्ध बढाउने पनि उल्लेख गरिएको छ।

सन् २०१२ यता चिनियाँ सेनाले मानवीय सहायता तथा विपद् व्यवस्थापनमा गरेका महत्वपूर्ण सहयोगमा सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पको संस्मरणसमेत गरिएको छ।

प्रतिवेदनको अनुसूचिमा चिनियाँ जनमुक्ति सेनाले विशेष किसिमका ८ समूह नेपालको भूकम्प प्रभावित क्षेत्रमा पठाएको र त्यसमा उद्धार, चिकित्सा तथा माहामारी नियन्त्रण र यातायात टोली गरी १ हजार ८८ जना संलग्न रहेको उल्लेख गरेको छ।

विश्वको रणनीतिक स्थिरताको अवमूल्यन
अन्तर्राष्ट्रिय रणनीतिक प्रतिष्पर्धा बढिरहेको चीनको विश्लेषण छ। अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिमा समायोजन गरी एकपक्षीय नीति अंगिकार गरेको चीनको बुझाइ छ।

‘अमेरिकाले मुख्य देशहरुबीचको प्रतिस्पर्धालाई थप तेजिलो बनाएको छ,’ सन् २०१९ को चिनियाँ प्रतिरक्षा प्रतिवदेनमा भनिएको छ, ‘रक्षा खर्चमा अत्यधिक वृद्धि गरेको छ। परमाणु, अन्तरिक्ष, साइबर तथा मिसाइल प्रतिरक्षालाई अतिक्ति क्षमतामा धकेलिदएको छ र विश्वको रणनीतिक स्थिरताको अवमूल्यन गरेको छ।’

उत्तरी आन्ध्र महासागर सन्धि सम्झौता (नेटो)ले आफ्नो विस्तारलाई निरन्तरता दिएको, केन्द्रीय र पूर्वी युरोपमा सैन्य परिचालन बढाएको र लगातार सैन्य अभ्यास सञ्चालन गरेको प्रतिवदेनमा उल्लेख गरिएको छ।

रुस र युरोपेली मुलुकप्रति भने प्रतिवदेनमा नरम विश्लेषण गरिएको छ। रणनीतिक नियन्त्रण, रणनीतिक सुरक्षा क्षेत्र र स्वार्थको संरक्षणका लागि रुसले आणविक र गैरआणविक क्षमता बढाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै, युरोपेली मुलुकले अझै स्वतन्त्र हुन र आफ्नै सुरक्षाका लागि सुरक्षा र प्रतिरक्षा समायोजन बढाएको पनि प्रतिवेदनमा जनाइएको छ।

एसिया-प्रशान्त क्षेत्रमा विश्वको आँखा
एसिया-प्रशान्त क्षेत्रका देशहरु आफूहरु साझा गन्तव्यका सदस्य भएकामा सेचत हुन थालेको विश्लेषण गरिएको प्रतिवदेनमा असहमति र विवादलाई संवादमार्फत हल गरिरहेको उल्लेख छ। त्यसको एउटा उदाहरण सांघाई सहयोग संगठन भएको उल्लेख गर्दै चीनले गैर-गठबन्धन र गैर-टकरावयुक्त अर्थपूर्ण सहकार्यका लागि यसले भूमिका खेलेको दाबी गरेको छ।

दक्षिणी चीन सागर सामान्यतया स्थिर रहेको र क्षेत्रीय देशहरुले खतरा र भिन्नतालाई राम्ररी व्यवस्थापन गरिरहेको पनि चीनको दाबी छ। क्षेत्रीय देशका सेनाबीच समन्वयकारी प्रतिआतंकवाद संयन्त्र बनाउन निरन्तर प्रगति भइरहेको समेत प्रतिवदेनमा उल्लेख छ।

सन्तुलित, स्थितर, खुला र समावेशी एसियाली सुरक्षा ढाँचाको निरन्तर विकास भइरहेको जनाउँदै प्रतिवदेनमा विश्वको आर्थिक र रणनीतिक केन्द्र एसिया-प्रशान्त क्षेत्रमा ‘सिफ्ट’ भइरहेको समेत विश्लेषण गरिएको छ। यो क्षेत्र विश्व शक्ति राष्ट्रहरुको प्रतिस्पर्धाको केन्द्र बनेको भन्दै यसले क्षेत्रीय सुरक्षामा समेत अनिश्चितता थपेको निचोड प्रतिवदेनमा निकालिएको छ।

‘अमेरिकाले एसिया-प्रशान्त क्षेत्रमा सैन्य गठबन्धन, सैन्य तैनाथी र हस्तक्षेत्रपलाई बलियो बनाउँदै लगेकाले यसले क्षेत्रीय सुरक्षामा जटिलता थपेको छ,’ प्रतिवदेनमा भनिएको छ।

सुरक्षा मामिलामा ठूलो भूमिका खोज्दै अष्ट्रेलियाले अमेरिकासँग सैन्य गठबन्धन बलियो बनाउँदै लगेको र एसिया-प्रशान्त क्षेत्रमा सैन्य सहभागिता बढाइरहेकोसमेत चीनले दाबी गरेको छ।

क्षेत्रीय ‘हटस्पोट’ र विवाद नसुल्झिएको भन्दै प्रतिवदेनमा सकरात्मक प्रगति हुँदाहुँदै पनि कोरियालली प्रायद्विपले अझै अनिश्चिता भोगिरहेको उल्लेख गरिएको छ। पाकिस्तान र भारतबीच विवाद भड्किने गरे पनि दक्षिण एसिया समान्यतया स्थिर नै रहेको निष्कर्ष प्रतिवदेनमा निकालिएको छ।नेपाल लाइभबाट साभार



प्रतिकृया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्