‘सिर्जनात्मक क्षमताको विकास गराउन मुन’

0
566
Advertisementcorona-new-ads

नवोदय शिशुसदन माविले जिल्लामा पहिलो पटक नमूना संयुक्त राष्ट्र सङ्घीय महासभा (मुन) कार्यक्रम गर्दैछ । यसले विद्यार्थीहरुलाई संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउँदै संयुक्त राष्ट्र संघको भूमिका र यसको कार्यहरुको विषयमा जानकारी गराउने विद्यालयको विश्वास रहेको छ । यसैसन्दर्भमा नवोदय शिशु सदनका शैक्षिक संयोजक अव्यक्त खनालसँग प्रदेश दैनिकले गरिएको कुराकानीको संक्षिप्त अंशः

मुन (नमूना संयुक्त राष्ट्र सङ्घीय महासभा) कार्यक्रम आयोजन गर्नुको उद्देश्य के हो ?
खनालः यो मुन कार्यक्रमचाहिँ संयुक्त राष्ट्र सङ्घीय महासभाको नमूना अभ्यास हो । यसपालि हाम्रो विद्यालयले पहिलोपटक भर्चुअलको माध्यमबाट यही असोज १५, १६ र १७ गते नमूना संयुक्त राष्ट्र सङ्घ (नवोदय मोडल यूनाइटेड नेसन्स) गर्न आँटको छ । यसले विशेष गरी विद्यालयीय विद्यार्थीहरुमा भएको बौद्धिक विकास, कुटनीतिज्ञ ज्ञान बोध गर्न, तार्किक क्षमताको विकास गर्न, सहकार्यात्मक क्षमताको अभिवृद्धि गर्न, नेतृत्व विकास गर्न, सामूहिक क्रियाकलापमा विद्यार्थीको सहभागिता जनाउन, समस्याको पहिचान गरी समाधाका बाटाहरु खोज्न तथा सिर्जनात्मक क्षमताको विकास गराउन सक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

तीन दिनसम्म के कस्ता कार्यक्रमहरु सञ्चालन हुन्छ ?
खनालः यसमा मुख्यतः ४ वटा कमिटिहरुमा विभाजन गरिएको छ । यिनीहरुको आ–आफ्नै एजेन्डा छन् त्यसमा छलफल गर्छन् । आफ्नो एजेन्डामा आएका समस्याहरु पत्ता लगाई समाधानका उपायहरु संयुक्त राष्ट्र सङ्घको ढाँचामा निकाल्छन् । सुरुवाती सत्र १५ गतेचाहिँ मुन के हो ? किन गराइन्छ ? यसले केकेको विकास गर्छ ? भन्ने विषयमा जानकारी गराइन्छ भने दोस्रो सत्रमा ४ वटा कमिटिमा बाँडिएर एजेन्डामा छलफल गर्छन् । एजेन्डामा आएका समस्याहरु एकअर्को देशका नागरिकहरुले थाहा पाउनेछन् र त्यसको समाधानका उपायहरु आफ्नो कमिटिले एउटा ठोस् निर्णय निकाल्नेछन् । यसैको दिन बेलुका सांस्कृतिक साँझ गर्नेछन् जसमा विद्यायार्थीहरुको प्रतिभा रहनेछ । त्यस्तै तेस्रो दिन (१७ गते) पहिलो सत्रमा रिजुलेशन र दोस्रो सत्रमा समापन कार्यक्रम हुन्छ जसमा उत्कृष्ट हुने विभिन्न कमिटिका विद्यार्थीहरुलाई पुरस्कृत गरिन्छ ।

कार्यक्रममा कति कक्षादेखिका विद्यार्थीहरुले सहभागिता जनाउने छन् ?
खनालः विशेष गरी यसमा विद्यालयीय उमेरका ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको छ भने त्यो भन्दा तल्लो कक्षाका विद्यार्थीहरु भने प्रेसको भूमिकामा रहेका छन् ।

यो कार्यक्रमले मुख्यगरी संस्थागत या सामुदायिक विद्यालयका कुन चाहिँ विद्यार्थीहरु बढी लाभान्वित हुन्छन् ?
खनालः हामीले दुबै विद्यालयलाई खबर गरेका थियौँ । तर कोभिडको कारणले भनेजस्तो विद्यालयहरु सहभागी हुन सकेनन् र गराउन पनि गाह्रो भयो यद्यपि मकवानपुर तथा बाहिरका केही विद्यायहरुलाई समेटेर कार्यक्रम गर्न आँटेका छौँ । मकवानपुरबाट जीएस निकेतन, चन्द्रोदय मावि, हेटौंडा एकेडेमी, मकवानपुर बहुमुखी क्याम्पस छन् भने चितवनबाट अर्किड स्कुल, सिमराबाट लोटस एकेडेमी, जनकपुरबाट मोनास्टिक स्कुल, बुटवलको एपेक्स स्कुल, भक्तपुरको खोपा कलेज, बाराबाट राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको सक्रिय सहभागिता रहेको छ ।

आगामी दिनमा यो कार्यक्रमले निरन्तरता पाउँछ कि पाउँदैन ?
खनालः विद्यार्थीहरुको बौद्धिक विकास, कुटनीतिज्ञ ज्ञान बोध, तार्किक क्षमता, सहकार्यात्मक क्षमता, नेतृत्व विकास, सामूहिक क्रियाकलाप, समस्याको पहिचान, समाधाका बाटाहरु खोज्न तथा सिर्जनात्मक क्षमताको विकास गराउने भएकाले विद्यार्थीसँग जोडिएको कार्यक्रमहरु जेजति हुन्छन् त्यसलाई गर्ने प्रयत्न गरेका छौँ र यो कार्यक्रम भने हरेक वर्ष आयोजना गर्नेछौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
खनालः यो कार्यक्रम विशेष नवोदयको मात्र होइन । सबै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको कार्यक्रम भएकाले हरेक वर्ष निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी हुन आग्रह गर्दछु । बौद्धिक क्षमताहरुको वृद्धि गर्ने, समस्या पहिचान गर्ने, समाधान खोज्ने तरकिाहरु उपनाउने हुँदा उक्त दिन कार्यक्रममा सहभागी भइदिनुहुन अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्