मकवानपुरमा ५ स्थानीय तहमा आधारभुत अस्पताल बन्दै

0
74
Advertisementcorona-new-ads

हेटौंडा, ६ मंसिर/मकवानपुरका ५ स्थानीय तहहरुमा आधारभूत अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १५ गते एकै साथ शिलान्यास गर्ने ३९६ अस्पतालहरु मध्ये मकवानपुरका पाँच अस्पताल पनि छनौटमा परेको छ । स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गरी ५/१०/१५ शैय्याको अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको छ भने स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा बजेट निकासा गरिसकेको छ ।

तस्विरःगुगल

मकवानपुरको थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र मनहरीको प्राथमिक स्वास्थ्य केन्द्रको भवन १५/१५ शैय्याको बन्ने भएको छ । यस्तै, कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चौकी र राक्सिराङ गाउँपालिकाका खैराङ स्वास्थ्य चौकी १०/१० शैय्याको बन्ने छ । इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीको भवन भने ५ शैय्याको बन्ने छ । मन्त्रालयले ५/१०/१५ शैय्याको अस्पताल निर्माणका लागि भवन पूर्वाधारको डिजाइन र निर्माण सम्बन्धी निर्देशिका जारी गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले थाहा नगर र मनहरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको १५/१५ शैय्याको भवन निर्माण गर्न प्रत्येक स्वास्थ्य केन्द्रको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ विनियोजन भएको छ । अहिले ८५ लाख रुपैयाँ निकासा भइसकेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । यस्तै, कैलाश र राक्सिराङ गाउँपालिको स्वास्थ्य चौकीको १०/१० शैय्याको भवन निर्माण गर्न प्रत्येक स्वास्थ्य चौकीका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ विनियोजन भएको छ। यी दुवै स्वास्थ्य चौकीका लागि अहिले जनही ८५ लाख रुपैयाँ निकासा भएको भएको छ। इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीको ५ शैय्याको भवन निर्माणका लागि ७ करोड ११ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ भने अहिले ७० लाख रुपैयाँ निकासा भइसकेको छ ।

मंसिर १५ गते सबै स्वास्थ्य भवनहरुको एकसाथ शिलान्यास गरिने भएकोले आवश्यक तयारी गर्न मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ । तीन सय ९६ अस्पताल बनाउन झण्डै ५८ अर्ब रुपैयाँ स्थानीय तहमा पठाइने भएको छ । पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । ती अस्पताल दुई वर्षभित्र निर्माण गरिसक्नुपर्छ । यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रुपमा जानेछ । अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि बसेको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माण शिलान्यास गर्ने तय भएको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्