शिक्षण अस्पतालको तयारी

0
44
Advertisementcorona-new-ads

हेटौंडा, १७ मंसिर/हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताल सञ्चालनमा आएसँगै शैक्षिक गतिविधि सञ्चालनको तयारी सुरु गरिने प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

‘अब हामी यो अस्पतालमा चाँडै शैक्षिक गतिविधिहरु पनि सञ्चालन गर्नेछौं,’ उनले भने,‘यो अस्पताललाई देशकै उत्कृष्ट स्वास्थ्य केन्द्रको रुपमा विकास गरिनेछ । यहाँ शैक्षिक गतिविधिहरु सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा गरी कार्यक्रम सुरु गरिनेछ ।’ १२० शैय्याको अस्पताल अहिले प्रदेश सरकार मातहत आएपछि ३ सय शैय्याको अनुमति प्राप्त भएको छ । ३ सय शैय्याको लागि भवन निर्माणको काम तीब्र गतिमा भइरहेको छ । २ वर्ष भित्रै एमबिबिएसको अध्ययन सुरु गर्ने उनको दावी छ ।

‘तत्काल केही शैक्षिक कार्यक्रमहरु प्रतिष्ठानले सुरु गर्नेछ,’ उनले भने,‘अबको २ वर्ष भित्र हामीले एमबिबिएस कक्षा सञ्चालन गर्ने छौं । चिकित्सक उत्पादनको लागि हामी यहीँ शैक्षिक गतिविधिहरु सञ्चालन गर्नेछौं ।’ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन प्रदेशसभाले पारित गरिसकेको छ । उक्त ऐन अनुसार प्रतिष्ठानको अस्पतालको रुपमा हेटौंडा अस्पताल रहने व्यवस्था गरिएको छ । केही समयमा नै प्रतिष्ठानलाई हेटौंडा अस्पताल हस्तान्तरण हुने रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए । ‘केही प्राविधिक कारणले अस्पताल हस्तान्तरण हुन बाँकी छ,’ उनले भने,‘अहिले प्रतिष्ठान मातहत नै यो अस्पताल सञ्चालनमा छ । तर आधिकारिक रुपमा प्रतिष्ठान मातहत आएको छैन । यो काम छिट्टै हुन्छ ।’

प्रतिष्ठानले प्रदेशस्तरमा ठूलो ल्याब पनि सञ्चालन गर्ने भएको छ। नेपालमा परीक्षण नहुने तथा परीक्षणका लागि विदेश पठाउनु पर्ने नमुनाहरु नेपालमा नै परीक्षण गर्न मिल्ने गरी प्रतिष्ठानले ल्याब सञ्चालनमा ल्याउने मुख्यमन्त्री पौडेलले बताए । प्रदेशमा स्वास्थ्य क्षेत्रमा अनुसन्धानसमेत प्रतिष्ठानले गर्ने उनले बताए । अहिले प्रतिष्ठान मातहत नयाँ भवन बन्दै छ । यस्तै, अर्को नयाँ भवनको एक साता भित्रै शिलान्यास गर्ने तयारी प्रदेश सरकारको छ । ४५ करोड रुपैयाँ लागतमा अर्को अस्पताल भवन बनेपछि सेवा विस्तारमा सहज हुने मुख्यमन्त्री पौडेलले बताए । अहिले हेटौंडा अस्पतालबाट धेरै जसो विषय विशेषज्ञले सेवा दिइरहेको भन्दै रजिष्ट्रार प्रसाईले थप नयाँ सेवाहरु तत्काल सुरु गर्ने तयारी भइरहेको बताए । ‘अस्पतालमा हामीले हालै मानसिक रोग विशेषज्ञ ल्याएर सेवा दिएका छौं,’ उनले भने,‘अब मुटुरोग विशेषज्ञ सेवा पनि हामी तत्काल सुरु गर्दै छौं । ल्याब सेवामा पनि विस्तार हुनेछ ।’

बीमा विस्तार गरिने
नेपाल सरकारले लागु गरेको स्वास्थ्य बीमा प्रयोगकर्ताहरु वृद्धि गर्ने प्रदेश सरकारको तयारी रहेको छ । बीमाबाट प्राप्त हुने सेवाको प्रभावकारिता वृद्धि भइरहेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बीमा गराउनेको संख्या बढाउन आवश्यक पर्ने बताए । ‘स्वास्थ्य बीमाको सेवा दिइने हो भने हामीले खोजेको जस्तो समाजवादउन्मुख मुलुक निर्माणमा पनि सहयोग पुग्छ,’ उनले भने,‘जनताले एका तर्फ निःशूल्क उपचार पाउँछ । औषधी र ल्याब सेवा पनि निशुल्क पाउँछ । अर्को तर्फ अस्पतालको आयमा पनि वृद्धि हुन्छ । स्वास्थ्य बीमाको प्रयोगकर्ताहरुको वृद्धिका लागि प्रदेश सरकारकाले काम गर्नेछ ।’ अर्को आर्थिक वर्षबाट नीतिगत रुपमा नै यो कार्यक्रम समावेश गरिने उनले बताए।

प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईका अनुसार हेटौंडा अस्पतालमा ४४ प्रतिशत विरामीहरुले बीमामार्फत सेवा लिएका छन् । यसले जनतालाई स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुगेको उनले बताए । बीमा कार्यक्रम थप विस्तार गर्नु पर्नेमा उनले पनि जोड दिएका छन् । ‘जनताले थोरै रकम तिरेपछि एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउँछ,’ उनले भने,‘यसले अस्पताल पनि आर्थिक रुपमा सुदृढ हुँदै जान्छ । जनताको स्वास्थ्य सेवामा पहुँच पनि बढ्छ ।’

आइसियुको सेवा सुरु
सोमबारबाट उद्घाटन गरिएको हेटौंडा अस्पतालको आइसियुमा उपचार सेवा सुरु भएको छ । सात शैय्याको आइसियुमा २ जना विरामी भर्ना भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा हरिबहादुर खड्काले जानकारी दिए ।

१० शैय्याको उच्च उपचार कक्ष (एचडियु) मा पनि ६ जना भर्ना भएर उपचाररत रहेको उनले बताए । निजी अस्पतालका आइसीयु र एचडीयुमा उपचार गर्न नसक्नेहरुलाई अस्पतालले प्राथमिकता दिएको छ । गरिवका लागि उपचार गर्न कोषको समेत स्थापना गरेर काम सुरु गरिएको छ । कोषमा डाक्टर खड्काले आफ्नो एक महिनाको तलब र अन्य सुविधा समेत गरेर ८१ हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । त्यसैगरी अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले ५० हजार रुपैयाँ, अस्पतालका कर्मचारी हिरा लामाले २५ हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

आइसीयु अभाबका कारण हेटौंडाका निजी अस्पताल र भरतपुर रिफर हुँदै आएका विरामी अब भने हेटौंडा अस्पतालमानै उपचार हुने भएको हो ।

प्रतिकृया दिनुहोस्