मृगौला बिरामीलाई एकलाख ९ हजार सहयोग

0
633
Advertisementcorona-new-ads

हेटौंडा, ९ पुस/दुवै मृगौलाले काम गर्न छोडेपछि थल्लिएका हेटौंडा–१९का एक युवालाई एकलाख ९ हजार ४३० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । मृर्गौलाको रोगबाट विरामी भएका हेटौंडा–१९ बस्तीपुरका रामकुमार नेपालीको उपचारका लागि स्थानीय मनहरी बर्तौला, प्रेम लामा, राजकुमार लामा, मानबहादुर गोलेलगायतको पहलमा संकलन गरिएको उक्त रकम बिहीबार एक कार्यक्रमकाबीच बिरामीलाई हस्तान्तरण गरिएको हो ।

मृगौलाका विरामीलाई सहयोग गर्दै सहयोगीहरु ।

डायलासिसका लागि चितवन धाउन बाध्य नेपालीको आर्थिक अवस्था समेत कमजोर भएकोले सहयोग संकलन अभियान सञ्चालन गरिएको मनहरी बर्तौलाले बताए । उनीहरुको यस अभियानमा जनहित सामुदायिक वन उपभोक्ता समूह, १९ नम्बर वडा कार्यालयसहित स्थानीय संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका थिए । वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’, वडा सदस्य ईन्दिरा तामाङलगायतको रोहबरमा नेपालीलाई एकलाख ९ हजार ४३० रुपैयाँ नगद हस्तान्तरण गरिएको हो । उनी करिब डेढ बर्षदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि घरमै थल्लिएका छन् । सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष सुवेदीले मानवमा बन्धुत्वको भावना हुनुपर्ने धारणा राखे ।

‘समाजमा मानिसको रुपमा रहेको हामीमा सामाजिक एवम् बन्धुत्वको भावना हुनु आवश्यक छ’, उनले भने, ‘एकजनालाई अप्ठेरो पर्दा अरुले सहयोग गर्ने बानीको विकास हुनु आवश्यक छ ।’ यस अभियानमा वडाले समेत आवश्यक सहयोग गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग संकलन अभियानलाई जारी राख्ने बताए । रामकुमार नेपालीले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे । रोजगारीको शिलशिलामा कतार रहेका उनलाई मृगौलामा समस्या देखिएपछि नेपाल फर्केका थिए । स्वास्थ्य जाँच गराउँदै दुवै मृर्गौलाले काम नगर्ने अवस्थामा पुगेको थाहा पाएको उनले बताए ।

प्रतिकृया दिनुहोस्