यो बर्षको बिजुलीमाया वन पुरस्कार गायिका ल्याल्मोलाई

0
56
Advertisementcorona-new-ads

हेटौंडा, १५ पुस/भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौंडाले प्रत्येक बर्ष प्रदान गर्दै आएको बिजुलीमाया वनः राष्ट्रिय संगीत पुरस्कार–२०७७ गायिका दाबा ग्याल्मोलाई प्रदान गरिने भएको छ । हेटौंडाका व्यवसायी, संगीतप्रेमी एवम् समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नो आमाको नामबाट स्थापना नगद एकलाख रुपैयाँ राशीको यस पुरस्कारबाट यसअघि ११ जना श्रष्ठा सम्मानित भैसकेका छन् ।

पुरस्कारको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी ।

यस बर्षको यो पुरस्कारबाट भारतको दार्जिलिङ निवासी बरिष्ठ गायिक ग्याल्मोलाई सम्मान गर्ने निर्णय भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । आगामी माघ १७ गते शनिबार हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । ‘बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छेबहादुर डंगोलको नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र, मीरा राणा, कर्म योञ्जन र चेतन कार्की सम्मानित भैसकेको भीम विराग संगीत साहित्य कला प्रतिष्ठनका अध्यक्ष हयग्रीव आचार्यले जानकारी दिए ।

बरिष्ठत्तमका आधारमा नेपाल र नेपाल बाहिर रहेर संगीत क्षेत्रमा लागेका बरिष्ठ गायक गायिकाहरुलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिँदै आएको उनले जानकारी दिए । गत बर्ष कोरोना भाइरसका कारण र २०७५ मा प्रबिधिक कारण पुरस्कार वितरण गर्न नसकिएको बताइएको छ । यस्तै सोही दिन नगद २० हजार राशीको भीम विराग संगीत युवा पुरस्कार २०७७ दक्षिण एसियाकै पहिलो महिलाहरूको सांगीतिक समूह हार्मोनीः महिला गायन समूह पोखरालाई प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्व अध्यक्ष तुलसी थापा, पूर्व महासचिव सुशीला पाण्डे, समाजसेवी मुक्तिगोबिन्द वैद्य, उपाध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपानेलगायतको आतिथ्यता थियो ।

प्रतिकृया दिनुहोस्