तीन कृतिमाथि समालोचना

0
156
Advertisementcorona-new-ads

हेटौंडा, १८ पुष/चितवनका तीन जना पत्रकारका तीन वटा कृतिहरु माथी शनिबार हेटौंडामा समालोचना भएको छ । चितवनका लेखक तथा पत्रकार क्रमश सूर्यप्रकाश कंडेलको उपन्यास ‘मोसो’, बसन्त पराजुलीको कथा संग्रह ‘कुमाता’ र विनोदबाबु रिजालको कोभिड डायरी ‘एकान्तवास’ माथी परिचर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरुको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा साहित्यकारहरु घनश्याम घिमिरेले उपन्यास मोसो, निमेश निखिलले कथा संग्रह कुमाता र शान्ति प्रियबन्दनाले कोभिड डायरी एकान्तबास माथी समालोचनात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् लेखक साहित्यकार गोविन्द रिजालले साहित्य र पत्रकारिता दुबै समाजको मार्ग दर्शक भएको बताए । साहित्यमा कमिकमजोरी रहे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले तीनै जना साहित्यकार एवम् पत्रकारको रचना समाजको सम्पती भएको उल्लेख गरे ।
साहित्यकार कँडेलद्वारा लिखित उपन्यास ‘मोसा’ पत्रकारिताका नाममा हुने विकृतिका बारे विषय उठान गरिएको कृति भएको साहित्यकार घिमिरेले टिप्पणी गरे । उनले पुस्तकको विषयबस्तु उत्कृष्ट रहेको तर कैयन स्थानमा विषय दोहोरिएका र भाषागत त्रृटि रहेको बताए ।

घिमिरेले पुस्तकमा पत्रकारिताभित्रका विकृति बारे गहिराइमा जान नसकेको र गम्भीर विषयलाई पक्रेर पनि गम्भीर ढंगले नै पस्कन नसकेको भन्दै उपन्यास सोचेजति आकर्षक नभएको टिप्पणी गरे । उपन्यास आफैँमा एउटा बेग्लै संसार भएको भन्दैे, विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुने सूर्यप्रकाश कँडेलले बताए ।

वि.सं २०५५ असोजमा चितवन पोष्ट साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका कँडेलका ‘मोसो’ उपन्यास पहिलो कृति हो । त्यसैगरी २ दशकदेखी गोरखापत्र राष्ट्रिय दैनिकमा आवद्ध रहेका पत्रकार पराजुलीको पहिलो कथासंग्रह ‘कुमाता’ मा सामाजिक यथार्थ चित्रण गरिएका कथाहरु रहेका छन् । उनको पुस्तकमाथि साहित्यकार निमेश निखिलले टिप्पणी गरेका हुन् । उनले संग्रह भित्रका सबै कथा सामाजिक यथार्थ परक र रोचक रहेको बताए ।

त्यसैगरी विनोदबाबु रिजालले कोरोना भाइरसका कारण गरिएको लकडाउनका अनुभूति संगालेर लेखेको पुस्तक ‘एकान्तवास’ कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । शान्ति प्रियबन्दनाले पुस्तक कोरोना कालको दस्तावेज भएको बताइन् । उनले पुस्तकमा चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई समावेश गरिएको बताइन् । ती घट्नाक्रममा धेरै विषय दोहोरिएको र पुस्तक रोचक नभएको उनको टिप्पणी थियो । सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा शान्तिप्रिय बन्दनाले गरिन् । लेखक रिजालले एकान्तवास अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए ।

रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् । राउण्ड टेवल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार आरसी रिजाल, हयग्रीब आचार्य, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बागमती प्रदेश समितिका सल्लाहकार गिरिजा अधिकारी, वर्तमान उपाध्यक्ष कुमार अधिकारी, सरिता दाहाल, लगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस्