मित्रमिलनको साधारणसभा सुरु

0
188
Advertisementcorona-new-ads

हेटौंडा, २० पुस/हेटौंडा–४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सुरु भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले साधारणसभा उद्घाटन गरेका हुन् ।

कोरोना भाइरसका कारण एकैदिन सम्पन्न गर्न नमिलेका कारण २४ गतेसम्म साधारणसभा चल्ने सहकारीका अध्यक्ष भोलाप्रसाद शर्मा खरेलले बताए । साधारण सभाको अवसरमा सहकारीले पुरस्कार वितरण तथा सम्मान समेत गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्य हेमकान्त सापकोटा र जगतलक्ष्मी उप्रेतीलाई सम्मान गरेको हो । त्यस्तै असल बचतकर्ता बुद्धिनाथ खतिवडा, प्रेमकुमारी पुलामी, रेवतीप्रसाद बन्जारा साथै असल ऋणी प्रविणदास श्रेष्ठ र मीना दाहाललाई सम्मान गरेको छ । त्यस्तै सहकारीले पत्रकार सुरेश श्रेष्ठ र श्रीराम अर्जुनलाई समेत सम्मान गरेको थियो ।

सभामा २०७६ मा एसइईमा उत्कृष्ट जीपीए ल्याउन सफल औजश्वी श्रेष्ठ, सुमा उप्रेती, सन्ध्या ढुंगेल र युनिस सुवेदीलाई पनि पुरस्कृत गरिएको थियो । संस्थाको शेयर पुँजी १ करोड ७ लाख ८२ हजार ७ सय रुपैयाँ रहेको सहकारीका व्यवस्थापक रामहरि खरेलले बताए । उनका अनुसार ८७९ शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्षको असार मसान्तसम्ममा ४ लाख १८ हजार रुपैयाँ नाफा गरेको छ ।

संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता थियो ।

प्रतिकृया दिनुहोस्