मनहरी गापामा ५ वटा पुलको निर्माण सम्झौता

0
445
Advertisementcorona-new-ads

पुलले हाँडीखोलाबासीको मुहार फेर्नेछ :अध्यक्ष उप्रेती
हेटौंडा, २८ पुस/मकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रमा ५ वटा पुल निर्माण हुने भएको छ । पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीसंग मंगलबार ठेक्का सम्झौता भएको छ ।

ठेक्का सम्झौता गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलगायत ।

मनहरी गापा–३ को लामिटार र ४ को ट्वाङ्ग्रा जोड्ने पुल, ४ नम्बरकोे गोलघर र ३ नम्बरको मिलडाँडा जोड्ने पुल, ३ नम्बर वडाकै कालिदमार र हाँडीखोला जोड्ने पुल, ३ कै भुन्द्रुङ र पालदमार जोड्ने पुल तथा १ र २ नम्बर वडालाई जोड्ने गरी पक्की पुल निर्माण हुन लागेको छ । ५ मध्ये ४ वटा पुल निर्माणको ठेक्का हिराचन–बानियाँ जेभीलाई परेको छ भने एउटा पुल निर्माणको ठेक्का भैरव–नारायण जेभीलाई परेको छ । ३३ करोडको लागतमा ५ वटा पुल निर्माण हुन लागेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । गाउँपालिकाको बजेटमा ५ वटा पुल निर्माण हुन लागेको हो ।

हाँडीखोला क्षेत्रको खोला तथा खहरेमा पुल नहुँदा स्थानीयले बर्षौंदेखि समस्या झेल्दै आएका थिए । बर्षाको समयमा एम्बुलेन्स, स्कुल बस एवम् साना तथा ठूला सवारी लामिटारबाट अन्य गाउँमा पुग्न समस्या रहँदै आएको थियो । २४ महिनाभित्र ५ वटै पक्की पुलको निर्माण कार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । ५ वटा पक्की पुल निर्माण सम्पन्न भएपश्चात मनहरी गाउँपालिकाको १ र २ नम्बर वडाका बासिन्दालाई हेटौंडा उपमहानगरपालिका हुँदै गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

खोल्सी तथा खहरेमा पुल नहुँदा तथा कच्ची बाटोका कारण १ र २ नम्बर वडाका बासिन्दा हेटौंडा हुँदै गाउँपालिका जानुपर्ने बाध्यात्मक अवस्थामा रहेका थिए । ‘मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रमा २ बर्षभित्रमा ५ वटा पक्की पुल बन्नेछ । यसबाट हाँडीखोलाका बासिन्दाले भोग्दै आएको दुःखको अन्त्य हुनेछ’, गाउँपालिका अध्यक्ष उप्रेतीले भने, ‘पुलहरु बनेपछि बाह्रै महिना हाँडीखोला क्षेत्रमा एम्बुलेन्स चल्नेछ । स्कुलका बसहरु घरघरमा पुग्नेछ । किसान, ज्येष्ठ नागरिक, विद्यार्थीदेखि सबै सर्वसाधारण लाभान्वित हुनेछन् ।’

तोकिएको समयमै पुल निर्माण कार्य सम्पन्न गराउन गाउँपालिकाले आवश्यक समन्वय एवम्् सहयोग गर्ने अध्यक्ष उप्रेतीले प्रतिबद्धता जनाए । ठेकेदार कम्पनीहरुले पनि ठेक्का अवधि अगावै पुल निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने जानकारी दिएका छन् । ठेक्का सम्झौता कार्यक्रममा गाउँपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाइँलगायतको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्