उत्पादन र बजारीकरणलाई जोड्नुपर्छ : देवकोटा

0
143
Advertisementcorona-new-ads

हेटौंडा, २८ पुस/केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले अब उत्पादन र बजारीकरणलाई जोड दिनुपर्ने बताएका छन् । मंगलबार जिल्ला बहुउद्देश्यीय सहकारी संघको सातौँ वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेका देवकोटाले सहकारीले विभिन्न क्षेत्रमा लगानी गरेर उत्पादनमुलक काम गर्नुपर्ने बताए ।

‘बचत संघले बचत मात्र होइन उत्पादन र बजारीकरणलाई जोड्नुपर्दछ,’ जिल्ला सहकारी संघ अध्यक्ष समेत रहेका देवकोटाले भने, ‘बहुउद्देश्यीय सहकारीले पनि कृषि र दूध क्षेत्रमा संयोजन गरी काम गर्नुपर्दछ ।’ सरकारले सहकारी संस्थालाई एकीकरण गरी अन्तर–सहकारीमा लगानी गरिररहेको उनले बताए । बेतिथी रहेका सहकारीलाई सरकारले दण्ड र सजाय दिइरहेको अवस्थामा राम्रा गर्ने सहकारीलाई पुरस्कृत गर्ने नीति निर्माण गर्नुपर्ने उनले बताए । जिल्ला सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्ष बद्री लम्सालले सहकारीलाई सरकारले अर्ति उपदेश दिने काम मात्रै गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

सभामा नियमित बचत गर्ने मकवानपुरगढी ३ को हिमाल बहुद्देश्यीय सहकारी संस्था र उत्कृष्ट बचत गर्ने राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो । संघको वार्षिक प्रतिवेदन अध्यक्षरामहरि न्यौपानेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिमलकुमार ढकालले र लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक रामेश्वर अर्यालले प्रस्तुत गरेका थिए । १ लाख १५ हजार रुपैयाँ शेयर पुँजी रहेको संघमा १९ वटा बहुउद्देश्यीय सहकारी संस्था आबद्ध रहेका छन् ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, दिव्यतारा बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डा. गणेश बल लामा, नारायणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष जंगबहादुर गुरुङ, शिवम् सिमेन्टका विक्री प्रवन्धक सुदेश सापकोटा, रिद्धिसिद्धि सिमेन्टका विक्री प्रवन्धक विक्रम खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्