नयाँ भवनबाट पनि सहकारी अस्पतालको सेवा सुरु

0
160
Advertisementcorona-new-ads

हेटौंडा, २९ पुस/मकवानपुर सहकारी अस्पतालले नयाँ भवनबाट पनि सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अस्पतालको अति सघन उपचार कक्ष (आइसीयु), ट्रमा सेन्टरसहितको भवन उद्घाटन गरेका हुन् । अस्पतालको नयाँ सेवासहितको भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी मकवानपुरमा स्वास्थ्य सेवा सुधार हुँदै गएकोमा खुसी व्यक्त गरे ।

मकवानपुरसहित प्रदेशकै स्वास्थ्य सेवा एवम् सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार तयार रहेको उनले बताए । स्वास्थ्य सेवा क्षेत्रमा लगानीको मुनाफा उचित हुनुपर्ने र सेवाभावलाई विशेष प्राथमिकता दिनुपर्ने उनले बताए । प्रदेश सरकार स्थापना भएदेखि नै मकवानपुर जिल्लाको स्वास्थ्य सुधारमा विभिन्न कार्य गर्दै आएको उनको दावी थियो । जिल्लाको स्वास्थ्य सेवा गुणस्तरीय नभएकोले मकवानपुरबासीले बाहिरी जिल्लामा गएर स्वास्थ्य उपचारमा रकम खर्च गर्नुपरेको मुख्यमन्त्री पौडेलले बताए ।

मकवानपुरको स्वास्थ्य सेवाको सुधार र विकासमा मुख्यमन्त्री या प्रदेश सरकारको मात्रै जिम्मेवारी भन्ने नठान्न अनुरोध गर्दै उनले सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटालगायतले सहकारीमार्फत अस्पताल सञ्चालन हुनु सराहनीय रहेको उल्लेख गर्दै स्वास्थ्य सेवालाई सेवाको रुपमा अघि बढाउन अनुरोध गरे ।

मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा आइसीयूसहितको सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए । उनले स्वास्थ्य सेवाको क्षेत्रमा सुरक्षाको चुनौति रहेको धारणा राख्दै सहकारी अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना लिएको सुनाए । दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयूसहितको ट्रमा सेन्टर विस्तार गरेको हो ।

प्रतिकृया दिनुहोस्