वागमती प्रदेश फुटबल संघ गठन कार्यक्रम- १३ जनाको उम्मेदवारी, नेतृत्व चयन हुन सकेन

0
549
Advertisementcorona-new-ads

हेटौंडा, २९ पुस/वागमती प्रदेश फुटबल संघको तदर्थ समिति चयनको लागि बुधबार हेटौंडामा समिति गठन कार्यक्रमको आयोजना भयो । तर वागमती प्रदेश फुटबल संघको अध्यक्ष पदमा १३ जनाले दावेदारी प्रस्तुत गरेपछि अध्यक्ष चयन हुन सकेन । मुलुक संघीयतामा गएस“गै नेपाली फुटबलको मुख्य संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रादेशिक संरचना निर्माण सुरु गरेको हो ।

वागमती प्रदेश फुटबल संघको तदर्थ समिति गठन कार्यक्रमका अतिथिहरु ।

यसअघि ६ वटा प्रदेशमा निर्विरोध प्रदेश समिति गठन गरेको भएपनि वागमतीमा भने त्यसले निरन्तरता पाउन सकेन । अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका दीपक चित्रकार, दोलखाका गोविन्द श्रेष्ठ र कौरव पाण्डे, मकवानपुरका राजेन्द्र श्रेष्ठ र टीकाराम लामा, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिरिरविक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दावेदारको रुपमा मकवानपुरका राजेन्द्र श्रेष्ठ, काठमाडौंका शाही र धादिङका खतिवडा रहेका थिए । उनीहरुको बीचमा सहमति नजुटेपछि १३ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

शाही वर्तमान एन्फाका पूर्व अध्यक्ष गणेश थापा पक्षधर मानिन्छन् । भेलाले १५ सदस्यीय नया“ कार्यसमिति चयन गर्नुपर्ने भएपनि अध्यक्षमा सहमति नजुटेपछि अन्य पदका लागि निर्वाचन मण्डलले प्रक्रिया नै सुरु गरेको थिएन । एन्फाको प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य पूर्णमान चित्रकार हेटौंडा आएका थिए । अध्यक्ष पदमा उम्मेदावरी दर्ता गराएकाहरुको सूची र प्राप्त सुझाव एन्फा केन्द्रीय नेतृत्वलाई प्रतिवेदनको रुपमा बुझाउने चित्रकारले बताए । एन्फाको माघ ५ गते बस्ने पूर्ण केन्द्रीय समितिको बैठकले यस विषयलाई टुंग्याउने बताइएको छ । हेटौंडामा भएको कार्यक्रममा वाग्मती प्रदेशका ११ जिल्लाबाट ३३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रदेशको रसुवा र रामेछाप जिल्लामा फुटबल संघको शाखा रहेको छैन ।

केन्द्रको भन्दा प्रदेशको खेलकुद संरचना बलियो : भण्डारी
वागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले केन्द्रको भन्दा प्रदेशको खेलकुद संरचना बलियो भएको बताएका छन् । वागमती प्रदेश फुटबल संघ तदर्थ समिति गठनका लागि आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका उनले यस्तो दावी गरेका हुन् । ‘हामी नयाँ व्यवस्थामा प्रवेश गरेका छौं’, भण्डारीले भने, ‘प्रदेशको खेलकुद संरचना बलियो हुँदै जानेछ । कानूनी आधार तयार पारेका छौं ।’

प्रत्येक निर्वाचन क्षेत्रमा कभर्डहल र प्रत्येक जिल्लामा रंगशाला बनाउने लक्ष्य रहेको उनले बताए । यस्तै हेटौंडाको गौरीटार रंगशालामा विभिन्न संरचना निर्माणको लागि २५ करोडको ठेक्का लागिसकेको उनले जानकारी दिए । एन्फाले प्रदेश खेलकुद परिषद्संग सहकार्य गरेर अघि बढ्नसक्ने बताए । खेलकुदमा प्रदेशस्तरीय समिति निर्माण गर्ने फुटबल संघ पहिलो हुने उनले जानकारी दिए ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा एन्फाका प्रतिनिधि पूर्णमान चित्रकार, फुटबल संघका सल्लाहकारहरु प्रताप बिष्ट, दीपक खड्का, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुसराज दाहाल, फुटबल संघका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्