उद्योग स्थापनाको लागि सदस्य संस्थासँग छलफल

0
165
Advertisementcorona-new-ads

हेटौंडा, १० माघ/जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले प्रशोधन दूध उद्योग स्थापनाको लागि प्रक्रिया सुरु गरेको छ । शनिबार भएको संघका सदस्य संस्थाका अध्यक्ष/व्यवस्थापकहरुको भेला गरी उद्योग स्थापनाको लागि आवश्यक छलफल गरेको हो । संघले उद्योग स्थापना गर्नका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको संघका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

उद्योग स्थापना नहुँदा दूधका कारोबार गर्ने बिचौलियाहरुले बढी मुनाफा आर्जन गर्ने गरेको उनले बताए । ‘साना उद्योगलाई बचाउन संघ लागिपरेका छ,’ उनले भने,‘दूध उत्पादनलाई बढाउन संस्थाहरु एकढिक्का भई अगाडि बढ्नुपर्ने देखिन्छ ।’ किसानहरुबाट उत्पादन भएको दूध धेरै उत्पादन हुने समयमा ‘मिल्क होली डे’ हुन सक्ने सम्भावनालाई उद्योग स्थापनाले न्यूनीकरण हुने केन्द्रीय दुग्ध संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए । उद्योग स्थापना गर्नका लागि बागमती प्रदेश सरकारले यसै आर्थिक वर्षमा केन्द्रीय दुग्ध सहकारी संघको सिफारिसमा मकवानपुर जिल्ला दुग्ध सहकारी संघलाई ७५ लाख विनियोजन गरेको छ ।

उद्योग स्थापनालाई अपुग रकम मकवानपुर जिल्ला दुग्ध संघ लगायत संघका सदस्य संथाहरुले शेयर बापत लगानी गर्ने भेलाले निर्णय गरेको छ । उद्योग स्थापनाको अनुमानित बजेट करिब ३ करोड रहेको छ ।उद्योगबाट आगामी वर्ष २०७८ बाट उत्पादन सुरु गर्ने गरी काम अगाडि बढाइएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताए । मकवानपुर जिल्लामा अहिले दैनिक करिब ४० हजार लिटर दूध उत्पादन भइरहेको छ । उत्पादन भएको दुध मकवानपुरलगायत काठमाडौ , पोखरा लगायतका २१ वटा उद्योगहरुले दूध खरिद गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्