कृषिमा वैदेशिक लगानी भित्र्याउन नहुने

0
138
Advertisementcorona-new-ads

हेटौंडा, ११ माघ/ डेरी एशोसिएसन नेपालका प्रतिनिधिहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रन दिन नहुने धारणा राखेका छन् । डेरी एशोसिएसन नेपालको आयोजनामा आइतबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उपस्थित सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्रिँदा स्वदेशी किसान र लगानीकर्ताहरु विस्थापित हुने बताएका हुन् ।
सरकारले स्वदेशी लागनीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्तसहित डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफूल तरकारी र कृषिका प्राथमिक उत्पादनसंग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लागनी खुला गर्ने निर्णय गरेपछि यस क्षेत्रका लगानीकर्ताहरु आन्दोलित भएका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्य एवम् कृषि पर्यटन समतिका संयोजक अरुण सुमार्गीले नेपालको कृषि क्षेत्रमा वैदेशिक लागनी खुला गर्न सरकारले लिएको नीतिको विरोध गरे । उनले नेपाली लगानीकर्ताहरुलाई विस्थापित गराउने गरी सरकारले कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने गरी अध्यादेश ल्याएको भन्दै उक्त अध्यादेश सरकारले फिर्ता लिनुपर्ने माग गरे ।
कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरिएको विषयमा कृषिमन्त्रीसंग छलफल गर्न समय लिइसकेको जानकारी दिँदै उक्त अध्यादेश फिर्ता नभए सरोकारवालाहरुको आन्दोलनमा महासंघले पनि साथ दिने प्रतिवद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा एशोसिएनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकाले नेपालमा कृषिमा बैदेशिक लगानी भित्र्याउन ल्याएको अध्यादेशले स्वदेशी लगानीकर्तालाई उद्योग बन्द गर भन्न खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहाल लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्