राक्सिराङमा निशुल्क स्वास्थ्य शिविर, २१० ले लिए सेवा

0
208
Advertisementcorona-new-ads

हेटौंडा, १७ माघ/रेडियो मकवानपुरको बार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा राक्सिराङमा भएको निशुल्क स्वास्थ्य शिविरमा २१० जनाले सेवा लिएका छन् ।

रेडियोको ११ औं बार्षिकोत्सव तथा रेडियो मकवानपुरको सन्चालक संस्था दिव्यतारा सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार राक्सिराङ–३ पलाँसेमा स्वास्थ्य शिविर भएको हो । सञ्चो हस्पिटल प्रालिको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा २१० जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता एवम् रेडियोका संरक्षक तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दिव्यतारा अध्यक्ष डीनाले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको राक्सिराङ गाउँपालिकाका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको बताइन् । उनले खानपानमा ध्यान दिएमा स्वस्थ रहन सकिने सुझाव दिइन ।

सहकारीको सेवा विस्तार गरिरहेको बताउँदै डीनाले आवस्यकता अनुसार राक्सिराङमा पनि सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइन । सहकारीको स्थापना दिवस र रेडियोको बार्षिकोत्सवको अवसरमा फरक फरक क्षेत्रलाई समेट्दै सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै आगामी बर्ष पनि यसलाई निरन्तरता दिने जानकारी दिइन । कार्यक्रममा सञ्चो हस्पिटलका डाक्टर सचिनलाल दास, स्थानीय समाजसेवी चित्रबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले कुनै बिरामीमा जटिल स्वास्थ समस्या देखिएमा थप उपचारमा छुटको व्यवस्था गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, अग्रज पत्रकार एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, स्थानीय समाजसेवीहरु बीरेन्द्र जिम्बा, सन्तोष थापालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्