दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता

0
121
Advertisementcorona-new-ads

हेटौंडा, २० माघ/झरना साहित्यिक परिवारको आयोजनामा हुुने दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनका आयोजना गर्र्दै झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले फागुन १४ र १५ गते बकैया गाउँपालिका–५ स्थित प्रभात माविमा महोत्सव हुने जानकारी दिए ।

‘हामीले हरेक वर्ष यो महोत्सव आयोजना गर्ने लक्ष्य लिएर अघिल्लो वर्षदेखि सुरु गरेका छौं,’ उनले भने,‘यो वर्ष हामीले विशेष कार्यक्रमहरु गरी दुई दिन यो महोत्सव गर्ने छौं ।’ महोत्सवको पहिलो दिन नवसर्जक रचना वाचन हुनेछ । बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन हुने अध्यक्ष गौतमले बताए । झरनाले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत जिल्लाका ६० भन्दा बढी विद्यालयहरुमा बाल साहित्य समिति गठन गरेको छ ।

उक्त समितिको समन्वयमा साहित्यमा सक्रिय बालबालिकाहरुको प्रस्तुती पहिलो दिन हुने अध्यक्ष गौतमले बताए । पहिलो दिन नै विभिन्न पुरस्कार वितरण हुनेछ । पहिलो दिनमा विभिन्न विषयमा बहसमुलक कार्यक्रम पनि हुने अध्यक्ष गौतमले बताए । महोत्सवको दोश्रो दिन स्रष्टा सम्मान सहित स्थानीय सांस्कृतिक नृत्य र साहित्यिक रचना वाचन हुने छ । यस्तै, झरना साहित्यिक परिवारलाई जग्गा दान गर्ने दाताहरुलाई पनि सोही दिन सम्मान गरिने अध्यक्ष गौतमले जानकारी दिए । बकैया साहित्य महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिने भएको छ । यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम उपाध्यायलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँको यो पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिँदैछ ।

रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिँदैछ भने अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने अध्यक्ष गौतमले जानकारी दिए । यस्तै बकैया–४का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिँदै छ । तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिँदै छ ।

बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कारखेम बोलखेलाई प्रदान गरिँदैछ भने चन्द्र कुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिने भएको छ । झरना साहित्यिक परिवार २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील साहित्यिक संस्था हो । यसले मासिक साहित्य शृंखला सञ्चालन, ‘झरना’ नामक अर्धवार्षिक पत्रिका प्रकाशन, प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरू प्रकाशन लगायत साहित्यको क्षेत्रमा विविध गतिविधिहरु गरिरहेको अध्यक्ष गौतमले जानकारी दिए । ‘झरनाले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरु पनि सञ्चालन गर्दै आएको छ,’ उनले भने,‘अहिले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत पछिल्ला ६ वर्षमा झरनाले ५० भन्दा बढी विद्यालयहरुमा पुगेर १ दिने काव्य प्रशिक्षण सञ्चालन गर्दै बाल साहित्य समितिहरू गठन गरिसकेको छ ।

नवसर्जकहरूमा लेखन र पठन संस्कृतिको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।’ यसैबीच झरना साहित्यिक परिवार मकवानपुरले आफ्नै भवन निर्माणका लागि बकैया–५ मा जग्गा प्राप्ति गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्