राक्सिराङले नयाँ सत्रबाट स्थानीय पाठ्यपुस्तक सुरु गर्ने

0
84
Advertisementcorona-new-ads

हेटौंडा, ८ फागुन/मकवानपुरको राक्सिराङ गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट स्थानीय पाठ्यपुस्तक अध्यापन सुरु गर्ने भएको छ । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरेसंगै आगामी शैक्षिक सत्रदेखि राक्सिराङका सबै विद्यालयको प्राथमिक तह (१ देखि ५ कक्षासम्म) का विद्यार्थीलाई गाउँपालिकाको सेरोफेरोको विभिन्न विषय समेटिएको पुस्तक ‘मेरो राक्सिराङ’ अध्यापन गराउने भएको हो ।

पाठ्यपुस्तकमा गाउँका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतका बिषय समेटिएको छ । यस्तै गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र, चट्याङ, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र कारण, चेपाङ जातिले मनाउने पर्व, उनीहरुका रहनसहन, भेषभुषा, भाषा, संस्कृति, गाउँपालिका भित्र रहेका खोलाखोल्सी लगायको बिषयमा समेत विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकाको ४ वटा विद्यालयमा नमूना कार्यक्रमको रुपमा यसै शैक्षिक सत्रदेखि १ देखि ५ कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन भइरहेको छ ।

खैराङको कालिका मावि, सिलिङ्गेको राष्ट्रिय मावि, सरिखेतको सूर्योदय मावि र चैनपुरको प्रजा कल्याण आधारभूत विद्यालयमा ‘मेरो राक्सिराङ’ किताब पढाई सुरु भएको हो । आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाको सबै ५२ वटा सामुदायिक विद्यालयमा १ देखि ५ सम्म ऐक्षिक अंग्रेजी विषयलाई हटाएर स्थानीय पाठ्यपुस्तकको पढाई सुरु गरिने अध्यक्ष मल्लले बताए । स्थानीय पाठ्यक्रममा सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामग्री समेटिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ ।

त्यस्तै दफा ११ (ज) १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ । पाठ्यपुस्तक निर्माणमा जापानको शान्ति भोलेन्टियर्स एशोसिएसन र समुन्नत नेपाल दातृ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । पाठ्यपुस्तक निर्माण भएसँगै सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई शिक्षणसम्बन्धी तालिमसमेत दिइएको छ । गत माघ १ गतेदेखि चितवनको सौराहामा विभिन्न चरणमा गरिएको तालिम शुक्रबार सकिएको हो । सामुदायिक विद्यालयका ५२ जना प्रधानाध्यापक र करीब ९५ जना विषयगत शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको समुन्नत नेपालका कार्यक्रम संयोजक तथा प्रशिक्षक युवराज लौडारीले जानकारी दिए ।

तालिमपश्चात सामुहिक फोटो खिचाउँदै ।

प्रतिकृया दिनुहोस्