सामुदायिक वनमा सरकारको हस्तक्षेप: पाठक

0
108
Advertisementcorona-new-ads

हेटौंडा, ८ फागुन/सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन माथी सरकारले हस्तक्षेप गरेको आरोप लगाएकी छिन् । शनिबार हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष पाठकले सामुदायिक वन सरकारको सहयोगि हुँदाहुँदै पनि सरकारले सामुदायिक वनको अधिकारमाथि हस्तक्षेप गरेको बताईन् ।

‘सामुदायिक वनले सरकारलाई सहयोग गरेको छ’, उनले भनिन् ‘सरकारले कहिल्यै पनि सहयोगिको भावनाले हामीलाई हेरेन ।’ सामुदायिक वनले समुदायका जनतालाई उपलब्ध गराएका सेवाहरुको बारेमा सरकारले बुझ्न नखोजेको आरोप उनको छ । वनलाई घाँस, दाउरासंग मात्र नहेरी आर्थिक आयआर्जनको माध्यमको रुपमा अघि बढाउनुपर्ने उनको सुझाव छ । वनबाट प्राप्त हुने उत्पादनलाई उपभोक्ताहरुसँग साझेदारी गर्दै सामुदायिक वनहरु अघि बढ्नुपर्ने उनले बताईन् । समुदायको संरक्षणमा रहेर नै सामुदायिक वनहरु यो अवस्थासम्म आईपुगेको उनले बताईन् ।

समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा समूहका अध्यक्ष बिडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले समूहको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बसन्त अधिकारीले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि ६० लाख रुपैयाँको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सदस्य खडानन्द चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, सव–डिभिजन वन कार्यालय हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा, चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नौलो बिहानी सहकारीका अध्यक्ष भरत सापकोटा, वशंगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने, प्रज्वल शिक्षा सदन बोर्डिङका प्रधानाध्यापक गणेश श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । वन समूहमा ९ सय उपभोक्ताहरु आवद्ध रहेका छन ।

सम्पादक पौडेलसहित ८ जनालाई सम्मान
हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले प्रदेश राष्ट्रिय दैनिकका सम्पादक विजय पौडेलसहित विभिन्न ८ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समूहले २४ औं बार्षिक साधारणसभाको अवसरमा प्रदेश दैनिकका सम्पादक पौडेलसहित ८ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद उपाध्याय, समूहका कार्यालय सचिव भीमसेन पौडेल, ज्येष्ठ उपभोक्ता युदुमाया दुलाल, कोषादत्त दुलाल, साधारणसभामा बढि उपभोक्ता उपस्थित गराउने कार्यसमिति सदस्य केशव धिताल र काठ चिरानी तथा ढुवानी तर्फ अर्जुन सापकोटालाई सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस्