स्थानीय तह मकवानपुर गोल्डकप यही २७ बाट

0
117
Advertisementcorona-new-ads

हेटौंडा, १० फागुन/ मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुँदै आएको शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २७ गतेबाट सञ्चालन हुने भएको छ । यस प्रतियोगिता यस बर्षबाट स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको नाममा सञ्चालन हुनेछ ।

गोल्डकपको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी ।

आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत तेस्रो संस्करणको प्रतियोगिताको मिति सार्वजनिक गर्दै तयारीको विषयमा जानकारी दिएको हो । यस प्रतियोगितालाई मकवानपुरका १० वटै स्थानीयले प्रायोजन गरेका छन् । यसबर्ष गोल्डकपको पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । यसअघि विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएकोमा यस बर्षको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद २५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको छ ।

आयोजक सहित ए डिभिजनका क्लव गरी १० टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा यही २७ गतेदेखि चैत्र ७ गतेसम्म प्रतियोगिता आयोजना गरिने मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
‘प्रतियोगिताको तयारीलाई तीव्र अघि बढाएका छौं । हामीलाई जिल्लाको सबै स्थानीय तह र बागमती प्रदेश खेलकुद परिषद्ले पनि सहयोग गरेको छ’, लामाले भने, ‘प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन हाम्रो टिम लागिपरेको छ ।’ प्रतियोगिताको लागि ९४ लाख ४० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

गोल्डकपमा सहभागिताको लागि मनाङमस्र्याङ्दी, थ्रीस्टार क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, च्यासल युथ क्लबलगायतका ए डिभिजन क्लबसँग कुरा भैरहेको आयोजकले बताएको छ । प्रतियोगिता संयोजक प्रताप बिष्टको अनुसार स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख अन्य ८ वटा गाउँपालिकाले ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने छन् ।

टिकटबाट १४ लाख ५० हजार रुपैयाँ संकलन गर्ने आयोजकको लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना र कल्पना शर्मा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख राजन दाहाल खुसराज, अखिल नेपाल फुटबल संघका पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्