तारा मिसको पोइ!

0
381
Advertisementcorona-new-ads

मिलेका दात्, बान्की परेको अनुहार, बिछट्टै राम्री नभएता पनि औसत राम्री, पढाइमा असाध्यै तिक्ष्ण नभएता पनि मान्छे एकदमै इखालू अनि मेहनती तारा मिस (नाम परिवर्तन) को स्वभावतः बिशेषता थियो । इमान्दार अनि पारिवारिक जिम्मेवारी राम्रो सँग बुझेकी उनमा घमण्ड भने कति पनि थिएन । तथाकथित दलित समुदायमा प्रवेशिका भन्दा माथिल्लो पढाइमा उक्लने कमै सहपाठीहरु मध्य एक भाग्यशाली महिलामा पर्थिन उनी ।

निर्मल घिमिरे

नेपालकै एक दुर्गम जिल्ला अनि न्युन मध्यम वर्गीय परिवारको एक प्रतिनिधि छोरी उच्च शिक्षाको लागि आफ्नो जिल्ला नजिक पर्ने शहरमा सपरिवार पुग्छिन। उनको परिवार पनि धेरै मेहनती अनि इमान्दार लगनशीलभै शहरमा आफ्नो सीप अनुसारको काम गरेर आफ्नो बाल बालिकाहरुको पढाइलाइ अगाडी बढाउन धेरै मेहनत गर्छन । परिवारको मेहनत अनि दुख राम्रो संग बुझेकी उनी र उनकी बहिनिहरुले पनि पढाईलाइ अनि पारिवारीक जिम्मेवारीलाइ राम्रैसंग निभाए। शहरको एक सामाजिक संस्था मार्फत सीप बिकासको तालिम लिए पश्चात उनमा थप आत्मबल बिकाश हुँदै गयो अनि सामाजिक संस्थामा जागिर पनि सुरु गरिन।

एन . जी. ओ. को जागिर न प¥यो, बाहिर बस्नेले ‘डलर खाए’ भनेर आरोप लगाए पनि सो भित्र काम गर्नेलाइ मात्र थाह हुन्छ वास्ताविक कठिनाइ । इज्जत राम्रो तर आम्दामी कम, खटाइ धेरै तर जस कम पाइनु सामाजिक संस्थामा कार्यरत ग्रास लेबलको कर्मचारीको दैनिकी नै हो भन्दा सायद फरक नपर्ला । हो त्यस्तै काम गर्दै आफ्नो सीप क्षमता विकास गर्दै मन कुडाउदै भए पनि काम गरिरहेकी हुन्छिन उनी । त्यतिन्जेल उनले बैदेशिक रोजगारबाट छोटो छुट्टिमा फर्किएका सुर्य (नाम परिवर्तन) संग बिबाह गर्दछिन । केहि समयको हनिमून अबधि सकिए पश्चात १ महिना जति बसेपछि श्रीमान पुन रोजगार कै लागि विदेश पलाएन हुन्छन भने तारा मिस चाहि नेपालमा एक्लै जीवन काटिरहेकी हुन्छे। जागिर चित्त बुझ्दो नभएपछि सबैलाई झैँ एन. जी. ओ. को जागिरमा कामको खटाइ अनुसारको जस र प्रतिफल नपाउदा प्राय सबै जसोले विकल्पको खोजीमा लाग्ने गर्दछन भन्ने सर्बब्यापक मान्यता भन्दा पर हुनु पक्कै पनि उनमा पनि सम्भब हुने कुरै भएन। तसर्थ उनि पनि त्यस्तै बेटर अवसरको खोजीमा थिइन।

सन् २०१५ को भुकम्प पश्चात उनले सिकेको सीपको क्षेत्रमा धेरैलाइ अवसर जुर्दै गयो। फलत उनले पनि एक प्रतिष्ठित संस्थामा नाम निकाल्न सक्षम हुन्छिन र जागिर सुरु गर्दछिन् । उनको जागिरको करार सम्झौता सकिन्छ । त्यसपछि अब के गर्ने कसो गर्ने भन्ने बिलखबन्दमा पार्छिन अनि श्रीमानको सल्लाह मुताबिक बैदेशिक रोजगार प्लस अध्ययनको लागि भासाको तयारीमा लाग्छिन। भासा पनि राम्रै बनाउछिन नेपालमै छदा पनि । किनकि उनी अत्यन्तै लगनशील अनि मेहनती जो थिइन। फलत उनले छात्रवृत्तिमा नाम समेत निकाल्न सफल हुन्छिन । उनको विदेश पलायन हुने बेलामा श्रीमान पनि मध्यपूर्ब देशबाट श्रीमतीलाइ उडाउन नेपाल आउछन् ।

बिहे गरेको ५ वर्ष भन्दा बढी भए ता पनि श्रीमती संग बढो मुस्किलले २ महिना भन्दा बढ्ता संगै बस्न सायद बस्न पाएका थिएनन । लौ न त ल, जा, भनिहाले उ बेलामा तर आफ्नो प्राण
प्यारीलाइ एक्लै विदेश पठाउन उनको मनले मानिरहेको हुदैन, फेरी गाउँ घरका उरन्ठेउला ठिटाहरुले पनि ‘हैन हौ सुर्य तेरो मति किन नासिएको ? श्रीमतीलाइ एक्लै विदेश पठाउनु भनेको अब तेरो घर बिग्रिने संकेत हो, थपक्क बच्चा जन्माएर घर मै थपक्क नाराखेर के हो तेरो पारा ?’ भनेर झन् डर देखाइदिन्छन् । भने घर तिरका केही महिलाहरुले पनि स्वास्नीलाइ विदेश पठाएर के के जित्छु भनेर पठाउन लागेको छस, लास्टमा थाहा पाउछस, बुढीले उतै बसेर तलाई वास्ता गरिन भने भनेर थप पिडा थोपरी दिन्छन् ।

जसले गर्दा उसको मन झन् चसक्क दुख्छ, जति जति श्रीमतीको विदेश जाने दिन नजिकिदै जान्छ, उनमा झन् झन् छटपटी अनि चिट्चिटाहट बढ्दै जान्छ। आफ्नो श्रीमतीप्रति विश्वास नभएकोले होइन तर पनि मान्छेहरुले चाहिने नचाहिने कुरा लगाएको कारण मनमा कताकता कस्तो कस्तो घबराहट भने पक्कै भैरहेको हुन्छ । छोरा मान्छे न परे, अरु अरुको अगाडी रुदा सबैले जिस्काउलान भन्ने पिरले गर्दा होला सायद राती सुत्ने बेला कोठामा हुँदा सुक्क सुक्क रुन्छन ।

तारा मिस चाही ‘नरुनु के, मैले आफ्नो जिम्मेवारी बिर्सन्न कहिले पनि, मलाई विश्वास लाग्दैन हो हजुरलाइ ?’ भनेर सम्झाउने कोसिस गर्छिन, तर उनको सामुन्ने सम्झिएको जस्तो लागे तापनि मनमा भने खै कसो कसो ढुकढुकी बढी नै रहनछ । धेरै नेपाली केटीहरु आफ्नो आखै अगाडी गल्फ तिर बिग्रिएर हिँडेका देखेका उनले कतै आफ्नो पनि त्यस्तो केहि …
शंका उब्जन्छ तर फेरी पनि आफैले आफैलाइ सान्त्वना दिन्छन । त्यस्तो हुँदै गर्दा तारा मिसको पनि उड्ने दीन आउछ अनि उनलाई छोड्न पतिदेब पनि संगै काठमाण्डौ आउछन, त्यस दिन उनीहरु धेरै जीवन जगतका कुरा गर्दछन, रात भरि निदाउनै सक्दैनन् । दिनमा घटीमा पनि ५ चोटी जति फोन, इमो, भाइबर, म्यासेन्जर इत्यादिमा भिडियो कल गर्ने योजना सहितको बाचा गर्दछिन। श्रीमानलाइ सम्झाई बुझाइ गरेर उनी विदेश जान्छिन।

उनको श्रीमान भने मन गह्रो बनाएर घर फर्कन्छन। बिदेश गए पछि उनीहरु आफ्नो सर्त मुताबिक नियमित भिडियोकल गर्दै घर परिवार अनि दुख सुखका कुरा गर्छन तर नेपाल र विदेशको समय समान नहुने हुँदा उनीहरु कहिले काही फोन नलाग्दा बु·गा केटाहरुले भनेको कुरा मनमा च्वास्स आइ हाल्छ अनि झन् तनाब झन् बढ्न थाल्दछ। यी र यस्तै गरी बिताउँदै थिए उनले दिनहरु अनि उनको पनि छुट्टी सकिने दिन आउने लागेकोले उनी पनि आफ्नै कार्यक्षेत्रमा खटिन गल्फ कन्ट्री जान्छन ।

बिदेशमा प्राय एउटै कोठामा केटै केटाहरु बस्ने अनि घर परिवारबाट टाढा हुने हुँदा बोलिने भाषामा प्रायः जसोको ‘नन भेज’ मिक्स हुनु स्वभाबिक नै हुने गर्दछ । उनका साथी सँगीहरुले पनि पनि उनलाई त्यस्तै त्यस्तै कुराहरुमा जिस्काउने गर्दथे । ‘हेर बुढीलाई बिदेश पठाएर तैले ठुलो गल्ती गरिस । लास्टमा घर पुग्दा छक्का पन्जाको काहानी जस्तै होलास है मोरा ख्याल गर है’ भनेर मात्र भने त हुन्थ्यो नि, लेख्न मिल्ने, नमिल्ल्ने सबै भनेर जिस्काउथे । कताकता मनमा चसक्क पस्थ्यो । एक्लो हुँदा धेरै सुक्क सुक्क रुन्थे । अनि तारा मिसलाई कल गर्दथे तर कुनै बेला उताको फोन भनेको बेलामा रिसिभ हुन्न थियो, त्यो बेलामा उनै उरन्ठेउला साथीहरुको कुरा याद आउथ्यो अनि झन रुन्थे ।

फोन गर्दा नलाग्न साथ सँगै कोठामा सुत्ने साथीले ‘ल है हेर सुर्य छक्का पन्जाको बिन्दु झै होला है’ भनेर झन चिड्चिडाहट थपिदिन्छन । जव उनी रुदै श्रीमतीलाई फोन गर्दथे, उनलाई उल्टै तारा मिसले चाही सम्झाउने गर्दथिन । आफु पनि बूढासँग सँगै रोइदियो भने बुढा झन् रोलान भनेर उनले चाही मन कठोर बनाएर ‘सबै राम्रो छ यता, सबैले आफूलाई छोरी जस्तै असल व्यबहार गर्छन, तपाईंले चिन्ता नगर्नुस है¤ भनेर सम्झाउने गर्दथिन । बुढाको मन त बुझ्थ्यो तर किन किन आफ्नै वरिपरी खराब व्यवहार देखाउने गरिएको अरुलाई देख्दा साथीहरुले भनेका कुरा सम्झेर आफ्नो बुढीलाई अटोमेटिक रुपमा पनि त्यस्तै सँग दाजेर मन रुवाउदै बस्थे ।उनले त्यतिनजेल सम्म यो कुरा बुझ्न सकेका थिएनन कि, केही ब्यक्तिको स्वभव गत बिशेषतालाई जोडेर त्यही आँखाले सबैलाई हेर्ने हाम्रो समाजको आँखालाई उनले बुझ्न सकेका थिएनन । अनि कुनै कुनै ब्यक्ति खराब देख्दा सम्पुर्ण वर्ग नै खराब हुन्नन भन्ने कुरा पनि ।

प्रतिकृया दिनुहोस्