एन्फा प्रदेश अध्यक्षमा हेटौंडाका श्रेष्ठ

0
197
Advertisementcorona-new-ads

हेटौंडा, १३ फागुन/अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेश अध्यक्षमा हेटौंडाका राजेन्द्र श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष हुन् । उनीसंग एन्फा प्रदेश समितिमा मकवानपुरका अन्य ३ जना चयन भएका छन् ।

राजेन्द्र श्रेष्ठ

एन्फा बागमती प्रदेश सचिवमा दीपेन्द्र ढकाल तथा सदस्यमा सुदिप राजबाहक र लवराज ठकुरी चयन भएका हुन् । एन्फाको बरिष्ठ उपाध्यक्षमा नुवाकोटका दीपक चित्राकार, उपाध्यक्षमा काभ्रेका निरज श्रेष्ठ, ललितपुरका सहदेव व्यञ्जनकार र धादिङका मनराज गोदार उपाध्यक्षमा चयन भएका छन् । सचिवमा मकवानपुरका ढकालसहित दोलखाका गोविन्द श्रेष्ठ, कोषाध्यक्षमा चितवनका श्रीकृष्ण कार्की र सहकोषाध्यक्षमा धादिङका दिवस सागर श्रेष्ठ चयन भएका छन् । प्रदेश अध्यक्षमा चयन भएका श्रेष्ठले खुसी व्यक्त गर्दै फुटबल क्षेत्रको विकासमा सदैव लागिपर्ने प्रतिबद्धता जनाए ।

‘मैले फुटबल संघ मकवानपुरको अध्यक्ष भएर काम गरेँ । अहिले पनि फुटबलको विकास एवम् गतिविधिमा सकृय नै छु’, उनले भने, ‘मुलुक नयाँ संरचनामा गएसंगै खेलकुदका संस्था पनि सोही अनुरुप अघि बढिरहेका छन् । एन्फा प्रदेश समितिको अध्यक्ष पदको लागि योग्य ठानेकोमा एन्फा केन्द्रीय कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’ केन्द्रको मार्ग निर्देशन एवम् प्रदेशको विधि विधान बमोजिम अघि बढ्ने उनले प्रतिबद्धता जनाए । एन्फा प्रदेश अध्यक्षको जिम्मेवारी मकवानपुरले पाएको भन्दै फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले खुसी व्यक्त गरे ।

यसअघि एन्फाको प्रदेश समिति निर्माणको लागि हेटौंडामा भएको भेलाले नेतृत्व चयन गर्न सकेको थिएन । अध्यक्ष पदमा १३ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिकृया दिनुहोस्