न्यौपाने भन्छन्:, निषेधको राजनीति तोड्न उम्मेदवारी’

0
125
Advertisementcorona-new-ads

हेटौंडा, १३ फागुन/मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि संघका निवर्तमान अध्यक्ष एवम् निवर्तमान केन्द्रीय सदस्य राजकुमार न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले निषेधको राजनीति तोड्न आफू अध्यक्ष पदमा फेरि एकपटक उठ्न लागेको बताए ।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै राजकुमार न्यौपाने ।

‘यहाँ निषेधको राजनीति सुरु भयो । म उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा चुनाव जित्थें, आफ्नै घरबाट रोक लगाइयो । केही व्यक्ती विशेषले फलानोलाई दिन हुन्न भनेर रोकियो’, न्यौपानेले भने, ‘म अध्यक्ष हुँदा केन्द्रमा जान चाहने सबैलाई मौका दिएको थिएँ तर मलाई रोक लगाइयो । म यसअघि केन्द्रीय सदस्य भएको सबैलाई मन पर्यो, मउवा संघका पदाधिकारीलाई मन परेन । यहाँको अध्यक्ष नबनेमा केन्द्रको यात्रा रोकिने अवस्था आएकोले मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

बार्गेनिङको लागि उम्मेदवारी घोषणा हो ? भन्ने पत्रकारको प्रश्नमा उनले आफू कुनै हालतमा ‘ब्याक’ नहुने दावी गरे । आफूले कसैलाई समर्थन गरेको भनेर बजारमा आएको हल्ला गलत भएको न्यौपानेले जानकारी दिए । ‘मैले कसैलाई छोड्नुपर्ने आवश्यक नै छैन । सहमति, सहकार्यका लागि आकांक्षीहरुसंग कुराकानी भएको हो तर कसैलाई छोड्ने सहमति भएको छैन’, उनले भने, ‘बजारमा आएको हल्ला गलत हो । म व्यवसायीको पीरमर्कामा सदैव साथै छु । मेरो सर्वोच्च अदालत भनेको व्यवसायीहरु हुन । व्यवसायीको निर्णय स्वीकार्य हुनेछ ।’ आफू कुनै राजनीति पार्टीमा नभएको र संघमा रहन्जुल कसैको सदस्यता नलिने भन्दै उनले उम्मेदवारी फिर्ता नहुने दोहो¥याए ।

राजकुमार न्यौपानेलाई महासंघको उम्मेदवार बन्न प्रतिनिधि नपठाउने गरी केही व्यक्तिले उम्मेदवार खडा गरेको भन्दै उनले आक्रोश पोखे । अहिले आफू एक्लै चुनावी अभियानमा रहेको जानकारी दिँदै उनले आवश्यकता अनुसार प्यानल निर्माण गर्ने जानकारी दिए । यसअघि भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मकवानपुर उद्योग वाणिज्य संघले प्रतिनिधि नबनाएपछि उनले बाहिरी जिल्लाबाट प्रतिनिधि बनेर निर्वाचन लडेका थिए ।

जिल्लाको सहयोग नपाएकोले निर्वाचनमा पराजित भएको भन्दै उनले आक्रोश पोख्दै आएका छन् । यसअघि संघका वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य तीनजनाले पनि अध्यक्ष पदमा उम्मेदवारी रहने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्