राजर्षी जनक कपको उपाधी पिप्लेलाई

0
353
Advertisementcorona-new-ads

हेटौंडा, ३० चैत/आयोजक बागमती नगरपालिकालाई सडनडेथमा हराउँदै हेटौंडाको पिप्ले युवा क्लवले सर्लाहीमा सन्चालन भएको पाँचौ राजर्षी कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । सोमबार भएको उपाधी भिडन्तमा निर्धारित समय र टाइब्रेकर समेत बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको हो । पिप्लेले आयोजकलाई सडनडेथमा ५–४ गोल अन्तरले हराएको हो ।

बिजेता पिप्लेले ट्रफीसहित नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्दा आयोजक टिमले ५ लाख ५ सय रुपैयाँमै चित्त बुझायो । पिप्लेको तर्फबाट सडनडेथमा कप्तान शाहिद, राजेन्द्र रावल, समिराज थोकर, फोफोना र ग्लोरीले गोल गरेका थिए । पिप्लेका विकास लामा, नवीन गुरुङ र सुशील यादवले गोल गर्न सकेनन् । बागमतीको तर्फबाट ऋतिक खड्का, कर्ण राउत, स्टेफन समीर, बिजय घलानले गोल गरेका थिए । सर्लाहीका पासाङ लामा र रुपक लामाको प्रहार पिप्लेका गोलरक्षक अनिष देउलाले रोक्दा शिव लिम्बुको प्रहार आकाशिएको थियो भने जाजाको प्रहार बारमा लागेर फर्किएको थियो ।

खेलको ५ औं मिनेटमा नै समिराज थोकरको गोलबाट पिप्लेले अग्रता लिएको थियो । ११ औं मिनेटमा सर्लाहीका स्टेफन समिरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । स्टेफनले नै १६ औं मिनेटमा बागमतीलाई थप गोल गर्दै अग्रता दिलाए । पिप्लेका कप्तान साहीदले २७ औं मिनेटमा गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए । रेफ्रीले सही निर्णय नलिदा सर्लाहीका ऋतिक खड्काले ८९ औं मिनेटमा गोल गर्दै आयोजकलाई उपाधी नजिक पुर्याए । ५ मिनेट इन्ज्युरी समयको तेस्रो मिनेटमा डिफेन्सले क्लियर गर्न खोजेको बलमा गोलरक्षक अगाडि बढ्दा पिप्लेले उपहार गोलमार्फत खेललाई बराबरीमा ल्याएको थियो ।

फाइनल खेलमा पिप्लेका ग्लोरी म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बागमतीका अरुण ब्लोन, डिफेन्डर पिप्लेका शाहिद मिडफिल्डर पिप्लेकै राजेन्द्र रावल, सर्वाधिक गोलकर्ता बागमतीका स्टेफन समीर र उत्कृष्ट प्रशिक्षक पिप्लेका सुबिन घिमिरे घोषित भए । उनीहरुले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै बागमतीका विजय घलानले ५१ हजार रुपैयाँ प्राप्त गर्दा सर्लाही उदयीमान खेलाडी घोषित हुँदै सर्लाहीला गोलरक्षक अरुण ब्लोनले पल्सर मोटरसाइकल प्राप्त गरे ।

उपाधी विजेता पिप्लेका प्रशिक्षक सुविन घिमिरेले खेलाडीको मिहेनतका कारण उपाधी जित्न सफल भएको प्रतिक्रिया दिए । ‘रेफ्रीको गलत निर्णयका कारण खेलमा केही प्रेसर भएपनि खेलाडीले सम्हालिएर खेल्दा जित निकाल्न सफल भयौं’, उनले भने,‘सहभागिताको पहिलो बर्षमै क्लबले उपाधी जित्न सफल भएको छ खुसी छौं । मकवानपुरलाई अहिलेसम्मकै ठूलो पुरस्कारसहितको उपाधी जिताउन सफल भएकोमा गर्व लागेको छ ।’ फाइनलमा खेलाडीको हौसला बढाउन वडा अध्यक्ष राजेश बानियाँ पनि मैदानमै पुगेका थिए ।

प्रतिकृया दिनुहोस्