९ गतेबाट अन्तरपालिका फुटबल, उद्घाटनमा बागमती र इन्द्रसरोवरले खेल्ने

0
89
Advertisementcorona-new-ads

हेटौंडा, ६ बैशाख/यही बैशाख ९ गतेबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चालन हुन लागेको प्रथम अन्तरपालिका फुटबल प्रतियोगिताको उद्घाटनमा इन्द्रसरोवर गाउँपालिका र बागमती गाउँपालिकाले खेल्ने भएको छ । प्रतियोगिताको विषयमा जानकारी दिन सोमबार जिल्ला समन्वय समितिमा आयोजित पत्रकार सम्मेलनमा खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ ।

प्रतियोगिताको जानकारी दिँदै जिसस प्रमुख खुलाल ।

प्रतियोगितामा जिल्लाको १० वटै स्थानीय तहको सहभागिता रहेको छ । जिल्ला समन्वय समितिको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा पहिलो पटक अन्तर पालिका फुटबल प्रतियोगिता हुन लागेको हो । बैशाख १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । ‘यही ९ गतेबाट सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुनेछ’, जिल्ला समन्व्य समिति प्रमुख रघुनाथ खुलालले भने, ‘जिल्लामा हुने विभिन्न प्रतियोगितालाई पालो दिँदा अन्तरपालिका फुटबल प्रतियोगिता ढिलो भयो ।’

जिल्लामा पछिल्लो समय कोरोनाको संक्रमण दर बढेकोले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार प्रतियोगिता हुने उनले बताए । स्थानीय खेलाडीको क्षमता विकास, खेल प्रतिभाको खोजी एवम् पालिकाबीच अन्तर सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले खेल सञ्चालन गर्न लागेको खुलालले बताए । जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामाले अन्तरपालिका फुटबल प्रतियोगिताबाट स्थानीय खेलाडीले आफ्नो खेल देखाउन पाउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको लागि ८ लाख ७७ हजार १५० रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्