जिल्लामा ४५ को परीक्षण गर्दा २१ मा कोरोना

0
68
Advertisementcorona-new-ads

हेटौंडा, ६ बैशाख/मकवानपुरमा सोमबार एकैदिन २१ जनामा नोबल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ४५ जनाको स्वाव परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो । यसअघि आइतबार ७ जनामा कोरोना देखिएको छ ।

पछिल्लो केहीदिन यता जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । सोमबार कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना, बकैया र मनहरी गाउँपालिकाका एक÷एक जना तथा हेटौंडा बस्दै आएका जिल्ला बाहिरका ३ जना रहेका छन् । हेटौंडा–१ का २५ र ३७ वर्षीया महिला, ४३ वर्षीय पुरुष, हेटौंडा–२ का ४२ वर्षीय पुरुष, हेटौंडा–३ का ७५ वर्षीय पुरुष, हेटौंडा–४ का ३७, ३८,४०,४७, ५० र ७५ वर्षीय पुरुष, हेटौंडा ५ का ३२ वर्षीय पुरुष, हेटौंडा–८ का २३ वर्षीया महिला र ३० वर्षीय पुरुष, हेटौंडा ११ का ८२ वर्षीय पुरुष र हर्नामाडी फुर्केचौरका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । बकैया गाउँपालिका ५ का ३४ वर्षीय पुरुष र मनहरी गाउँपालिका १ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

यसैगरी हेटौंडा बस्दै आएका बाहिरी जिल्लाका ३ जना पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरका ५ जना कोरोना संक्रमित निको भएका छन् । छिमेकी मुलुक भारतसंग सिमाना जोडिएका जिल्लाहरुमा कोरोनाको संक्रमण बढ्दै आएकोमा पछिल्लो समय मकवानपुरमा पनि संक्रमणको दर बढेको छ ।
यस्तैमा नेपालमा भने पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १ हजार २८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

आइसोलेसन र क्वारेन्टिनलाई व्यवस्थित बनाउन निर्देशन
कोरोना भाईरसको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा रहेको आइसोलेसन कक्ष र क्वारेन्टिनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

सोमबार कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले छिटो छरितो एवम् प्रभावकारी रुपमा उपचार गराउन हेटौंडा अस्पतालको २–३ किलोमिटर क्षेत्र भित्र आइसोलेसन वार्ड सञ्चालनका लागि स्थानहरुको पहिचान गर्ने निर्णय गरेको छ । स्थानीय निकायको समन्वय र सहकार्यबाट स्थानीय तहमै संचालन भइरहेको विद्यालयहरुलाई कोभिड–१९ को संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी शैक्षिक सत्रको परीक्षा यथाशीघ्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

बैठकले जिल्लामा रहेको होटल, रेष्टुरेन्ट र लजहरुले आवश्यक सुरक्षाका मापदण्ड अपनाई रातको ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्