मास्क नलगाई हिँड्न नपाइने

0
72
Advertisementcorona-new-ads

हेटौंडा, ७ बैशाख/ मकवानपुरमा मास्क नलगाइ हिँड्न नपाइने भएको छ । जिल्लामा कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

सबै यात्रुले मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने तथा सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा दश रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरू गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला ट्राफिक कार्यालय मकवानपुर मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्ने, कार्यालय, पसल लगायतका सार्वजनिक स्थलमा सेनिटाइजर वा साबुनपानीले हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ ।
यस्तै जिल्लाभित्र रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्पा, स्विमिंग पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । एक पटकमा २५ जना भन्दा बढी जम्मा हुन नहुने, मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी हुन नहुने निर्णय गरिएको छ ।

यस्तै क्वारेन्टाइन, आइसोलेशन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षण लगायतका कार्यका लागि अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्