मन्त्री परिषद्को निर्णय लत्याउँदै हेटौंडाका विद्यालय खुला

0
147
Advertisementcorona-new-ads

हेटौंडा, ७ बैशाख/नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको भन्दै सरकारले हेटौंडा उपमहानगरपालिकासहित नेपालको ४० वटा स्थानीय तहमा बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि हेटांडामा भने कार्यान्वयन भएको छैन ।

तस्विरः गुगल

मकवानपुरमा पछिल्लो तीनदिन यता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्था छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना संक्रमण बढेको हेटौंडासहित देशका ४० स्थानीय तहमा वैशाख मसान्तभर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर हेटौंडाका प्राय ः सबै निजी विद्यालयमा मंगलबार पठनपाठन भएको छ । विद्यालयहरुले खासै सुरक्षा सतर्कता समेत नपअनाएको पाइएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका केही सरकारी विद्यालयले परीक्षा सञ्चालन गरिरहेका छन् भने केहीमा पठनपाठन भैरहेको छ । केही विद्यालय भने परीक्षापश्चात बन्द गर्ने निर्णयमा पुगेका छन् ।

हेटौंडासहित काठमाडौं उपत्यकाका सबै महानरपालिका र नगरपालिकाका विद्यालयहरु, उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने निर्णय गरेको थियो । कोरोनाको संक्रमण बढ्न सक्ने सम्भावना भएका जिल्लाका शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्ने निर्देशन भएपनि हेटौंडाका विद्यालय निर्वाध सञ्चालन भैरहेको हो । यसबाट विद्यार्थीमा कोरोनाको संक्रमण हुनसक्ने भन्दै अभिभावकहरु चिन्तित भएका छन् ।

‘बालबालिका संक्रमित भए को जिम्मेवार ?’
संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाले मन्त्रीपरिषद्को निर्णय नमानेर हेटौंडा उपमहानगरपालिकाका विद्यालयले गम्भीर गल्ती गरेको प्रतिक्रिया दिएकी छिन् ।

हेटौंडामा पछिल्लो केहीदिन यता कोरोना संक्रमण बढिरहेको अवस्थामा सरकारको निर्णय लत्याएर विद्यालय खोल्नु विद्यार्थी एवम् अभिभावकमाथी घात भएको उनको भनाई छ । ‘विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन । सरकारको निर्णय मान्नुपर्छ’, अध्यक्ष सापकोटाले भनिन्, ‘प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्नू भनेको भन्ने जानकारीमा आएको छ । मापदण्ड पालना भए नभएको कसले हेर्ने ? विद्यार्थीबाट कोरोना संक्रमण भयो भने को जिम्मेवार हुन्छ ?’ अधिकांश विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै उनले मन्त्री परिषद्ले गरेको निर्णय अनुसार विद्यालय बन्द गर्नुपर्ने माग गरिन् ।

आजबाट भौतिक उपस्थितिमा पढाउन नपाइने
आज बुधबारबाट हेटौंडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्थामा भौतिक उपस्थितीमा प्रत्यक्ष रुपमा पठनपाठन नहुने भएको छ ।

उपमहानगरभित्रका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थामा बैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने भएको हो । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । हेटौडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरूले जोखिमको आंकलन गरी आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठनपाठन गराउन सक्नेछन् । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी गराउन सकिने निर्णय भएको छ ।

मकवानपुरमा थप १३ मा कोरोना
मकवानपुरमा थप १३ जनामा नोबल कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेका छन् । मंगलबार इन्टिजिन विधिबाट परीक्षण गरिएका ४ जना तथा पीसीआर विधिबाट परीक्षण गरिएका ९ जना गरी १३ जनामा कोरोना संक्रमण फेला परेको हो ।

१३ जनामध्ये दुईजना बालबालिका रहेका छन् । १२ र १५ बर्षका बालबालिकामा कोरोना फेला परेको जिल्ला जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका १३ मध्ये एकजना बारा जिल्लाको र बाँकी हेटौंडा उपमहानगरपालिकाका रहेको चौलागाइँले बताए ।

प्रतिकृया दिनुहोस्