दूध कारोबार गरेर ४७ करोड शहरको पूँजी गाउँ भित्रियो

0
207
Advertisementcorona-new-ads

सुजन ढकाल

हेटौंडा, ९ बैशाख/चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा दूध विक्री गरेर ४७ करोड रुपैयाँ शहरको पूँजी गाउँ भित्रिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा ८३ लाख ३३ हजार ८ सय २५ लिटर दूध खरिद गरी ४७ करोड ९८ लाख १५ हजार ४ सय ६० रुपैयाँ प्रारम्भिक सहकारी संस्थामार्फत कृषकलाई भुक्तान गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा संघले हेटौंडा दुग्ध वितरण आयोजनालाई ८ लाख ५७ हजार लिटर, हेटौंडा डेरी इण्डष्ट्रिजलाई १८ लाख ४० हजार लिटर, काउण्टरमार्फत स्थानीयलाई २ लाख ३ हजार लिटर तथा मकवानपुर, काठमाडौं र पोखराका साना र ठूला निजि डेरीलाई ५४ लाख ३२ हजार लिटर दूध विक्रि गरेको संघका व्यवस्थापक कुमारमणि दहालले जानकारी दिए । संघले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कुल आम्दानी ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ४८ करोड ३१ लाख ५४ हजार रुपैयाँ रहेको छ । संघको कारोबार १ अर्ब २३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

कोभिड १९ को असरले गर्दा दूध संकलन नहुँदा मकवानपुरका किसानले करिव १५ करोड रुपैयाँ क्षेति व्यहोर्नु परेको संघका अध्यक्ष बासुदेव अधिकारीले बताए । ‘उद्योगबाट प्राप्त हुनुपर्ने दूधको रकममा ढिलाई हुँदा किसानले समयमै रकम पाएका छैनन् । किसानलाई मध्यनजर गरी संघले आन्तरिक स्रोतमार्फत किसानलाई रकम भुक्तानी गरिरहेका छौँ,’ अधिकारीले भने ।
हाल मकवानपुरमा कोभिड १९ को संक्रमण बढेकोले गर्दा फेरी पनि दूधको कारोबार बन्द हुने हो कि भन्ने चिन्ता बढ्दै भएको अधिकारी बताउँछन् । ५८ वटा प्रारम्भिक संस्था आवद्ध रहेका संघमा हाल ५ वटा संस्था निस्क्रीय रहेका छन् । भौगोलिक विकटताले गर्दा हाल ५ वटा संस्था निस्क्रिय रहेको संघले जनाएको छ । जिल्लामा ३६ वटा चिस्यान केन्द्र सञ्चालनमा रहेका छन् ।

नगरमा २६ वटा दुग्ध संस्था
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध रहेका संस्थामध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाभित्रका रहेका छन् ।

नगरभित्र २६ वटा दुग्ध संस्थाले दूध कारोबार गरिरहेका छन् । यसैगरी ८ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी दूध कारोबार हुने गढी गाउँपालिकामा १६ वटा, बकैयाँ र मनहरी गाउँपालिकामा समान ६ वटा, भीमफेदीमा ३ वटा र बागमती गाउँपालिकामा १ वटा दुग्ध संस्था सञ्चालनमा रहेको छ ।

मकवानपुरगढी गाउँपालिकाले दैनिक करिव १२ हजार लिटर दूध विक्रि गरिरहेको छ । भौगोलिक विकटताले गर्दा भीमफेदी गाउँपालिकामा दुग्ध संस्था निस्क्रिय हुँदै गएको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्