साहित्य संगमद्वारा १० साहित्यकारलाई सम्मान

0
129
Advertisementcorona-new-ads

हेटौंडा, ११ बैशाख/मकवानपुरका साहित्यकारहरुको अग्रणी संस्था साहित्य संगम मकवानपुरले विभिन्न विधाका १० जना साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । शनिबार हेटौंडा–४ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको नगद २० हजार रुपैयाँसहितको गोपालप्रसाद रिमाल स्मृति सम्मान नाटककार गोपाल पराजुलीलाई प्रदान गरिएको छ । यस्तै मकवानपुर साहित्य श्री सम्मान संगमका उपाध्यक्ष एवम् आँचल साहित्य कला पुञ्ज मकवानपुरका संस्थापक उपाध्यक्ष अप्सरा तिम्सिना लम्साललाई मरणोपरान्त प्रदान गरिएको छ । नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहितको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियो । आदर्श टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको पारिजात स्मृति सम्मान डा. अरुणा उप्रेतीलाई प्रदान गरिएको छ । संगमले नगद १० हजार राशीको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान मकवानपुरको उत्तरी क्षेत्र पालुङका साहित्यकार राम बर्तौला आँशुलाई प्रदान गरेको छ ।

यस्तै २१ हजार १ सय ११ रुपैयाँ सहितको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार एवम् व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिएको छ भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिएको छ । उनलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

शिक्षा एवम् साहित्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको नगद ७ हजार ७ सय ७७ रुपैयाँको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई र संगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित सम्मान गरिएको हो । शिक्षासेवी डेण्टीजंग शाहले छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गरिएको छ ।

हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहितको पुरस्कार प्रदान गरिएको हो । जिल्लाको माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको ण कुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिएको छ ।

५ हजार राशीको पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिदै आएको छ । संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको ३०६ औं नियमित साहित्य सन्ध्या एवम् सम्मान समर्पण समारोहमा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्