बालविकास शिक्षकको तलबमा भारी वृद्धि

0
177
Advertisementcorona-new-ads

हेटौंडा, १३ बैशाख/हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बालविकास केन्द्रमा कार्यरत शिक्षक तथा सहजकर्ताहरुको पारिश्रमिकमा भारी वृद्धि गरिएको छ । उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले बालविकासका शिक्षकहरुले अहिले पाइरहेको तलबमा सात हजार ४ सय ४० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ ।

अहिले बालविकास केन्द्रमा कार्यरत शिक्षक तथा सहयोगि कार्यकर्ताहरुले मासिक ६ हजार रुपैयाँ पारिश्रमिक बुझिरहेका छन् । उपमहानगरपालिकाले तलब थप गरेपछि उनीहरुको तबल १३ हजार ४ सय ४० रुपैयाँ पुगेको छ । थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको भन्दै उनीहरुको सेवा सुविधा थप गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । हाल कार्यरत शिक्षक/ सहजकर्ताहरुलाई हाल प्रदान गरिदैं आएको मासिक पारिश्रमिकलाई बृद्धि गरी श्रम ऐनको प्रावधान बमोजिम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पुर्याइएको मेयर महतले बताए ।

यसका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गरी जेठ १ गतेबाट लागु गर्ने उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले बताए । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ जना शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत रहेका छन् । यसैगरी कार्यपालिकाको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत योजना तथा कार्यक्रमहरु मध्ये सम्झौता हुन बाँकी योजना तथा कार्यक्रमहरु २०७८ बैसाख २० गते भित्र सम्झौता गर्ने गरी उपहमहानगरपालिकामा पेश गर्न आग्रह गरेको छ ।

यसैगरी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट तयारीको कार्य अबिलम्ब सुरु गर्नको लागि यस अगाडि गठन भएको समितिलाई निर्देशन दिने निर्णय भएको चौलागाईले बताए । विभिन्न शाखा/महाशाखागत रुपमा विभिन्न विषय क्षेत्रको नीति कार्यक्रम र बजेटको खाका २०७८ बैशाख २० गते भित्र पेश गर्ने गरी समय सीमा निर्धारण गर्ने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्