जिल्लाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द हुने

0
75
Advertisementcorona-new-ads

हेटौंडा, १३ बैशाख/मकवानपुरका शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्लामा कोरोनाको संक्रमण दर अप्रत्यासित ढंगले बढेपछि मकवानपुरका विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक संस्थाबाट भौतिक उपस्थितिमा हुने पठनपाठन र सञ्चालन भैरहेका सबै प्रकारका परीक्षा समेत बन्द गर्ने निर्णय भएको हो ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबारबाटै लागु हुने गरी जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । यस्तै मकवानपुरका होटल, रेष्टुरेण्ट तथा रिसोर्टहरुमा विवाह, व्रतबन्ध, जन्मदिन मनाउनले लगायतका भिडभाड हुने कार्यक्रम आयोजना गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइने भएको छ । हेटौंडा बजार क्षेत्रको फुटपाथमा गरिने व्यापार व्यवसाय तत्काल बन्द गरिने निर्णय भएको छ । यसैगरी हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाडलाई नियन्त्रण एवम् व्यवस्थापन गर्दै कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न दिन तोकेर आलोपालो व्यवसाय सञ्चालन गरिने भएको छ । यसको लागि मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

हेटौंडा बसपार्कस्थित तरकारी बजार र माछामासु बजार एवम् ख्वपः गल्ली तरकारी बजार विहान ४ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएकोले परीक्षण संख्या बढाउन किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा रहेको पीसीआर मेसिनलाई स्वाव परीक्षण गर्ने कार्यमा प्रयोग गर्न कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । कोरोना संक्रमणको परिस्थितीलाई मध्यनजर गरी विगतमा सञ्चालन भएका आइसोलेसन सेन्टर पुनः सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ ।

यस्तै जिल्लाको कोभिड १९ संक्रमण नियन्त्रण एवम् व्यवस्थापनका लागि दैनिक गतिविधिको विवरण तयार, सूचना सम्प्रेषण, समन्वय र व्यवस्थापकीय जिम्मेवारीका लागि तास्क फोर्स निर्माण गरिएको छ । यसको संयोजकमा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला र सदस्यमा हेटौंडा उपमहानगरपालिकाका अधिकृत, स्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय मकवानपुरका अधिकृत रहेका छन् ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले समन्वय गर्ने
हेटौंडा, १३ बैशाख÷ बागमती प्रदेश सरकारले कोरोना संक्रमण जोखिम न्युनीकरणका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बागमती प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कुनै ठोस काम गर्ने निर्णय गरेको छैन ।

केन्द्रले जिल्ला संकट व्यवस्थापन केन्द्र र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको हो ।स्थानीय तहमा जोखिम तथा स्वास्थ्य मापदण्डको पालना सम्बन्धमा नागरिक तहसम्म सचेतना अभिवृद्धि गर्न प्रदेशका १३ वटै जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने केन्द्रले निर्णय गरेको छ ।

११९ वटै स्थानीय तहहरुमा रहेको विभिन्न संघसंस्थाहरुलाई कोभिड प्रतिकार्य सम्बन्धी कार्यमा परिचालन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति र स्थानीय कोभिड–१९ संकट व्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय भएको छ । स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण परिपालन गर्न/गराउन, प्रदेशका कार्यालयहरूलाई सबै मन्त्रालयहरूले सामाजिक दुरी तथा मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न कार्यालय तथा मातहतका निकायहरूलाई निर्देशन दिने र व्यापार व्यवसाय गर्दा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सम्बन्धमा मुख्यमन्त्रीले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक बसी आवश्यक जानकारी लिने भएका छन् । यस्तै, उपचारका लागि सामाजिक विकास मन्त्रालयको द्रुत प्रतिकार्य टोलीलाई पूर्ण रुपमा सक्रिय बनाएर जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्य गर्ने गराइने भएको छ । विरामी व्यवस्थापन, स्वास्थ्य संस्थाहरुबीचको समन्वय, अन्तर्राष्ट्रिय नाका, प्रदेश प्रवेश नाकामा निगरानी, शव व्यवस्थापन र सुरक्षा व्यवस्थाका सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयबीच सहकार्य गरी आवश्यक कार्य गर्ने गराउने निर्णय पनि सोमबारको बैठकले गरेको छ ।

स्थानीय तहहरुले आफ्नो क्षेत्रमा पूर्व तयारी स्वरुप होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर, क्वारेन्टाइन बनाउन सकिने सम्भाव्य स्थानहरु र जनशक्ति व्यवस्थापनको क्षेत्रमा गर्न सक्नेक कामहरुको विवरण लिएर प्रदेश सरकारले थप सहयोग गर्ने विषयमा छलफल गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्