पत्रकार महासंघको र्‍यापिड रेसपोन्स टिम

0
95
Advertisementcorona-new-ads

हेटौंडा, १८ बैशाख/कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन र कोभिड–१९ जोखिम न्यूनीकरणका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ ।

शनिबार बसेको महासंघको बैठकले प्रदेश अध्यक्ष शिव देवकोटा संयोजक रहने गरी ११ सदस्यीय ¥यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो । र्‍यापिड रेस्पोन्स टिममा प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले, कोषाध्यक्ष रमेश ढुङ्गेल, कार्य समिति सदस्यहरु प्रविण दत्त, ज्ञानु श्रेष्ठ, काजी श्रेष्ठ, पेमा लामा, श्यामप्रसाद खतिवडा रहेका छन् ।

बैठकले सबै जिल्ला शाखाहरुलाई र्‍यापिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीतिका साथ काम गर्न आग्रह गरेको छ । बैठकले कोभिड–१९ बिरुद्धको खोप लगाउन बाँकी रहेका सञ्चारकर्मीहरुलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्षत्रमा अटिन आग्रह गरेको छ । कोभिड–१९ जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातारण निर्माणको लागि सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै महासंघले आफ्नो सञ्चारगृहमा रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन पनि आग्रह गर्ने निर्णय भएको महासचिव कृष्ण सारु मगरले जानकारी दिए ।

कोभिड जोखिमको बहानामा सञ्चारकर्मीलाई बेतलबी बिदामा नराख्न र निष्कासन नगर्न सञ्चारमाध्महरुलाई आग्रह गर्दै उक्त काम भएको खण्डमा महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने समेत चेतावनी दिएको छ । सञ्चार क्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

¥यापिड रेस्पोन्स टिमले सञ्चारकर्मीका लागि कोरोना जोखिम न्यूनीकरणका गाइडलाइन समेत तयार गर्ने निर्णय भएको महासचिव मगरले जानकारी दिए । बैठक नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष देवकोटाको अध्यक्षतामा भर्चुअल माध्यामबाट बसेको हो ।

प्रतिकृया दिनुहोस्