कोरोनाले बन्द भयो हेटौंडाका होटल तथा रेष्टुरेण्ट

0
78
Advertisementcorona-new-ads

हेटौंडा, १८ बैशाख/पछिल्लो दुई हप्ता यता बागमती प्रदेशको राजधानी मकवानपुरमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर अप्रत्याशित ढंगले बढेसंगै शनिबारबाट हेटौंडाका होटल, लज, रेष्टुरेण्ट, मिठाई पसल तथा चिया पसल बन्द भएको छ ।

होटलहरुमा सर्वसाधारणको भिड बढ्ने र कोरोना संक्रमण थप फैलिनसक्ने खतरालाई ध्यानमा राख्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडाका होटल, लज, रेष्टुरेण्ट, मिठाई पसल तथा चिया पसल बन्द गर्ने निर्णय गरेको थियो । अर्को निर्णय नभएसम्मका लागि हेटौंडाका होटल, लज, रेष्टुरेण्ट, मिठाई तथा चिया पसलहरु बन्द भएको हो । यद्यपी हेटौंडाका होटलहरुबाट टेकअवे र होम डेलिभरीको सेवा भने बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भैरहेको छ ।

यसैगरी हेटौंडा–१० बसपार्कमा मानिसहरुको भिडभाड बढेपछि बसपार्कमा सञ्चालनमा रहेका सम्पूर्ण पसलहरु अर्को निर्णय नहुञ्जेलसम्मका लागि शनिबारबाट बन्द भएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले कार्यरत मजदुर तथा श्रमिकलाई उद्योग परिसरमै राखेर बाहिर आवतजावत हुन नदिने गरी उद्योग सञ्चालन गर्न थालेका छन् । व्यवसायीहरुले हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाडलाई नियन्त्रण एवम् व्यवस्थापन गर्दै दिन तोकर आलोपालो बिहान १० देखि ६ बजेसम्म मात्र व्यवसाय सञ्चालन सुरु गरेका छन् ।

हेटौंडामा रहेका सम्पूर्ण निजी अस्पतालले अस्पताल परिसरमा ज्वरो क्लिनिक सञ्चालन सुरु गरेका छन् । भोली आइतबारदेखि थाहा नगरपालिकामा रहेका मालपोत र नापी कार्यालय पनि अर्को निर्णय नहुन्जेलसम्म बन्द हुँदैछ ।

प्रतिकृया दिनुहोस्