मकवानपुरमा पनि आज रातिबाट निषेधाज्ञा

0
88
Advertisementcorona-new-ads

हेटौंडा, १८ बैशाख/जिल्लामा अप्रत्यासित रुपमा कोरोना भाइरसको संक्रमण बढेसंगै आज आइतबार राति १२ बजेबाट लागू हुने गरी मकवानपुरमा निषेधाज्ञा लागू हुने भएको छ । नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएपछि आइतबार राति १२ देखि बैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेकोले नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको जानकारी दिए । कोरोना संक्रमितको उपचारमा सकृय चिकित्सक एवम् अन्य सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरुले जिल्लामा कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा वा लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । मिनी लकडाउन गर्दै प्रशासनले अन्तिममा निषेधाज्ञा गर्ने निर्णयमा पुगेको हो ।

‘कोरोनाको संक्रमण थप बढ्न नदिनका लागि यो निर्णयमा पुगेका हौं । आम सर्वसाधारणको जनजीवनमा केही समस्या हुनसक्छ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘निषेधाज्ञाको पूर्ण पालनाको लागि आम जिल्लाबासीलाई विनम्र अनुरोध गर्न चाहन्छु ।’ उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र स्वास्थ्य सुरक्षाका नियम पालना गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकका सहभागीले पनि लकडाउन वा निषेधाज्ञा गर्नु आवश्यक रहेको सुझाव दिएका थिए ।

निषेधाज्ञामा के पाइन्छ के पाइन्न ?
निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य तथा अत्यावश्यक वस्तु खरिद गर्न पायक पर्ने नजिकको स्थानमा जान बाहेक सर्वसाधारणहरु घर बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक उपभोग्य वस्तुहरु खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री गर्ने पसल विहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।

औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने वर्कसप भने नियमित सञ्चालन गर्नुपर्नेछ । बाँकी सबैखालका पसलहरु पूर्ण रुपमा बन्द गर्नुपर्नेछ । एम्बुलेन्स, विरामी बोकेका गाडी, खाद्य, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने गाडी, शव बहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छिका दाना, कृषि मल तथा विउविजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत र इन्टरनेटका गाडी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडी बाहेक सबै सार्वजनिक र निजी सवारी सञ्चालन गर्न पाइनेछैन ।

यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय संस्था, अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारले सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्र र समाचार संकलन एवम् सम्प्रेषण गर्ने कार्यमा खटिने सञ्चारकर्मीले पहिचान खुल्ने फोटोसहितको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने छ । अन्य जिल्लाबाट आएका पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने लामो दुरीको सवारीको हकमा भने जिल्लामा नरोकिने गरी आवतजावत गर्न पाउनेछन् ।

यस्तै अत्यावश्यक सरकारी सेवा एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीमा सञ्चालन गर्नुपर्नेछ । बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गर्ने सेवाको हकमा भने जनस्वास्थ्यका मादपण्ड अनिवार्य पालना गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्नुपर्नेछ । तर एटीएम तथा विद्युतीय सेवा भने २४ घण्टै सुचारु राख्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्